अस्ताना, १० पुस । कजाकिस्तानको अक्ताउ सहर नजिक एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । रुसी समाचार एजेन्सीहरूले कजाकिस्तानको आपतकालीन मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् । समाचारअनुसार अजरबैजान एयरलाइन्सको विमानमा ६७ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनामा धेरैको ज्यान गएको आशंका गरिएको छ । घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा विमान तीव्र गतिमा ओर्लिरहेको र जमिनमा ठोक्किएपछि आगोको ठूलो मुस्लो उठेको देख्न सकिन्छ ।
कजाकिस्तानको आपतकालीन मन्त्रालयलाई उद्धृत गर्दै प्रतिवेदनमा विमान दुर्घटना भएको ठाउँमा आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको जनाएको छ । अहिले पीडितहरुको विवरण संकलन भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा केही मानिस बाँच्न सफल भएका छन् ।
दुर्घटनामा २५ जना जीवित
विमानमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका ३ जना नागरिक रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ । चेचेन नेता रमजान कादिरोभले आफ्नो टेलिग्राम च्यानलमा विमान दुर्घटनामा शोक व्यक्त गर्दै दुर्घटनामा २५ जनाको जीवितै उद्धार गरिएको दाबी गरेका छन् ।