बर्दिवास, २८ पुस । शुभस्वस्तिक हस्पिटल प्रालि.को १५ बार्षिकोत्सव समारोहका सबैजसो वक्ताले सो हस्पिटलले गरेको समाज सेवाको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री, समाजसेवी कृष्ण देवकोटा, बर्दिवास हेल्प फाउण्डेसनका अध्यक्ष कुमार भण्डारीलगायतले यस्तो प्रशंसा गरेका हुन् ।
प्रमुख अतिथि मेयर क्षेत्रीले शुभस्वस्तिक हस्पिटलले पुर्याएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै शुभस्वस्तिक मधेश प्रदेशकै नमुना हस्पिटल भएको बताए । उनले भने ‘यो हस्पिटल निजी भए पनि पैसाको अभावका कारण विरामीले उपचारबाट बञ्चित हुनु परेको छैन ।’ उनले हस्पिटलले आफ्नो सिफारिसमा कैयौंलाई निःशुल्क उपचार गरिदिएकामा कार्यकारी निर्देशक दिपक कार्कीलाई धन्यवाद दिए ।
आफू बर्दिवास अस्पताल र शुभस्वस्तिक हस्पिटलबीच सहकार्यका लागि उत्सुक रहेको बताउँदै मेयर क्षेत्रीले चाडै सम्झौता गर्ने तयारी भएको जानकारी दिए । उनले यो सहकार्यले बर्दिवास क्षेत्रका जनताले धेरै सुविधा पाउने जनाए । उनले भने ‘शुभस्वस्तिकमा सिटि स्क्यानलगायत धेरै नवितम उपकरण छ । बर्दिवास अस्पतालले रिफर गरेका विरामीलाई न्यूनतम शुल्क लिएर उपचार पाउने व्यवस्था सम्झौतामा हुनेछ । त्यसले विरामीको खर्च घटाउँछ ।’
त्यसैगरी अर्का वक्ता बर्दिवास हेल्प फाउण्डेशनका अध्यक्ष तथा सफल व्यवसायी कुमार भण्डारीले शुभस्वस्तिक हस्पिटल बर्दिवासको गौरव र शान भएको बताए । यो हस्पिटलले सबै खालको रोगको उपचार दक्ष चिकित्सक तथा आधुनिक उपकरणको सहयोगले गर्ने भएकाले अब उपचारै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नरहेको बताए । बर्दिवासका अन्य अस्पतालले विरामीलाई काठमाडौं रेफर गरिरहेकोमा आश्चार्य व्यक्त गर्दै भण्डारीले भने ‘यही शुभस्वस्तिकमा किन रेफर गरिदैन ? यहाँ भरपर्दो उपचार छ र काठमाडौंभन्दा त धेरै खर्च कम हुन्छ ।’
भण्डारीले शुभस्वस्तिकले हस्पिटलमा आउने विरामीको उपचार गरेर पैसा मात्र नहेरेको जानकारी दिंदै हरेक अफ्य्ठारामा शुभस्वस्तिकलाई बस्ती–बस्तीमा भेटेको बताए । कुना कन्दरामा झाडा वान्ताको व्याधि फैलिएको अवस्था होस वा कारोना महामारी वा सडक दुर्घटना शुभस्वस्तिकले घटनास्थलमै पुगेर निःशुल्क सेवा गरेको आफूले जताततै भेटेको उनको कथन थियो । आफू नीति निर्माण गर्ने ठाउँमा पुगे सकेसम्म स्वास्थ्य र शिक्षाको शुल्क घटाउने उनले बताए ।
अर्का समाजसेवी तथा सर्प दंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले एउटा सानो झुपडीबाट सूरु गरेको शुभस्वस्तिकको स्वास्थ्य सेवा अहिले विशाल विल्डिङ्गमा रुपान्तरण भएकामा खुसी ब्यक्त गरे । उनले शुभस्वस्तिक हस्पिटल सय बेडको भएपछि अब यहाँका जनताले उपचारकै लागि काठमाडौं जानु पर्ने अवस्थाको अन्त्य भएको बताए । देवकोटाले शुभस्वस्तिकले स्थापनाकाल देखिनै विभिन्न रोगका विशेषज्ञ चिकित्सक समय समयमा बर्दिवास झिकाएर जनताको सेवा गरेको बताउदैं उनले भने ‘शुभस्वस्तिक हस्पिटलका डाक्टर हस्पिटल मात्र कुरेर आएका विरामीको उपचार गरेर बसेको छैनन् गाउँ–गाउँ बस्ती–बस्तीमा पुगेर सेवा दिएको छ ।’
शुभस्वस्ति हस्पिटलकै कार्यकारी निर्देशक दिपकबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हस्पिटलमा दिर्घ सेवा गर्ने स्वाथ्यकर्मी सि.अ.हे.ब. अमृता राना मगर र हाउस किपर रेनुका श्रेष्ठलाई प्रशंसा–पत्र, मायाको चिनो र खाँदा ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा हस्पिटलमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी अन्य कामदारलाई पनि १५ औं बार्षिकोत्सवको मायाको चिनोसहित खाँदा ओडाएर सम्मान गरिएको थियो ।