
बर्दिवास, ५ असोज । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा मधेश सरकारका भौतिक योजनामन्त्री सरोजकुमार यादव महोत्तरीका गाउँ वस्तीमा एमालेलाई क्रियाशिल बनाउन जुटेका छन् । देशैभरी प्रायः मुख्य राजनीतिक दलको दलगत गतिविधि ठप्प भएको बेला उनी भने गाउँ–गाउँ पुगेर पार्टी पंक्तिलाई क्रियाशिल बनाउन जुटेका हुन् ।
जेन–जेडको नाममा भएको आन्दोलनमा (२५ गते) उनको पनि बर्दिवास्थित घर खरानी बनाइएको छ, मन्त्री क्वाटर पनि तोडफोड भएको छ । तर उनी २६ गतेदेखिनै पार्टीपंक्तिलाई क्रियाशिल बनाउन जुटेका छन् । असोज २६ गते उनले एमाले बलवा नगरकमिटीको बैठक मात्र राखेनन्, एमाले –जिन्दावादको नाराले नगरनै घन्काए ।

आज असोज ५ गतेसम्म आइपुग्दा उनले सोनमा, मनराशिश्वा पालिकामा पालिकास्तरीय पार्टी कमिटीको बैठकका साथै जुलसै निकालेका थिए । संविधान दिवसको दिन रामगोपालपुर नगरपालिकामा भब्य जुलुसको आयोजना उनकै नेतृत्वमा भएकोे थियो । आइतबार रामगोपालपुरमै जिल्ला कमिटीको वैठकको आयोजना गरिएको छ ।
‘घर बनाउनुजस्तै हो पार्टी बनाउन । घर बनाउन सबैभन्दा पहिले भूई (जमिन) बलियो हुनु पर्छ, भूईँ बलियो नभए जग बलियो हुँदैन त्यस्तै हो पार्टी पनि’ उनले भने ‘एमालेको भूई भनेको आधारभूत तहका जनता हुन्, जग भनेको तिनै भूईँ मान्छेका अगुवा हुन् । त्यसैले एमालेको घर बलियो छ ।’
एमालेलाई पत्तिसालको उपमा दिदै उनले भने ‘बेस्सरी हावाहुरी चल्दा घर भत्कन सक्छ, नभए पनि छाना उडाउन सक्छ तर, पहाडको टाकुरामा रहेको एउटा सत्तिसाल सालको रुख न ढल्छ न त नुहिन्छ, एमाले सत्तिसालजस्तै हो । ’ आजको जिल्ला कमिटीको बैठकपछि महोत्तरी जिल्लाभरी नै एमाले पहिलेभन्दा अझ सक्रिय हुने उनले जानकारी दिए ।

