
बर्दिवास, ८ असोज । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।
चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् । देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।
धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।
चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ ।
यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता ।
नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः ।।
