
बर्दिवास, ९ असोज । महोत्तरीमा विश्व पर्यटन दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा बिहीबार बर्दिवास – कालापानीमा भएको पत्रकार सम्मेलनमा सो बारे जानकारी दिइएको हो ।
यही आउदो ११ असोज बिहीबार अर्थात २७ सेप्टेम्वरलाई विश्यभर पर्यटन दिवसकारूपमा मनाइन्छ । दिवसलाई सप्ताहव्यापी मनाउने क्रममा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले सो समयमा आउने पर्यटकलाई खानामा १५ प्रतिशत र वासमा २० प्रतिशत छुट दिने निर्णय गरिएको महोत्तरी होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले जानकारी दिए ।
सो दिन जलेश्वरस्थित नेपाल –भारत नाकामा नेपाल भित्रिने पर्यटकलाई माला, खाँदा लगाएर स्वागत गर्ने, मिठाई खुवाउने र उनीहरूसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी कार्कीले जानकारी दिए । यस वर्ष महोत्तरीका पाँच स्थानलाई विशेष पर्यटकीय स्थानको रूपमा घोषणा गरिएको कार्कीले बताए ।
उनले भने ‘महोत्तरी जिल्लाभरीमा धेरै पर्यटकीय महत्वमा स्थान छन्, सबैका आ–आफ्नै विशेषता छन् । तर यस पटक पाँच स्थानलाई विशेष महत्व दिइएको हो ।’ ती पाँच स्थानमा टुटेश्वरनाथ, पञ्चधुरा माइस्थान, रौजा मजार, जलेश्वरनाथ र पारैलस्थान रहेको जानकारी दिइयो ।
पत्रकार सम्मेलनअघि होटल तथा पर्यटन व्यवसायी र पत्रकारहरूको संयुक्त समूहले कालापानी पिकनिक पार्कको सरसफाई गरेका थिए ।
