कार्यवाहक सभापति बनाएर निर्वाचनमा जानुपर्छ : निधि

राजनीति

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा कार्यवाहक सभापति तोकेर अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन तयारीमा लाग्नुपर्ने बताएका छन् ।

नेता निधिले कार्यवाहक विधानअनुसार उपसभापति पूर्णबहादुर खड्कालाई दिनुपर्ने बताए । ‘सभापति शेरबहादुर देउवा हस्पिटलाइज्ड हुनुहुन्छ । उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ र पार्टी घोषित निर्वाचनको तयारी गर्नुपर्छ,’ नेता निधिले रातोपाटीसँग भने, ‘विधानअनुसार कार्यवाहकको जिम्मेवारी पाउने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’

निधिले बृहत् एकता कायम गर्ने उपयुक्त विकल्प कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निर्वाचनमा होमिनु भएको बताए । मुलुक जटिल परिस्थितिमा रहेको वेलामा पार्टीमा विशेष महाधिवेशन गर्न नहुनेमा निधिले जोड दिए । ‘मुलुक जटिल परिस्थितिमा छ । यस्तो बेलामा पार्टीमा विशेष अधिवेशन गर्न हस्ताक्षर सङ्कलन गर्नु उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध राख्न सक्दैन । फ्याक्सन ल्याउँछ,’ निधिले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार