
बर्दिवास, २४ कात्तिक । आफू मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसंगै सरोजकुमार यादवले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मन्त्री हुनेमा लखन दास(एमाले), बिमला अन्सारी (समाजवादी पार्टी) र राप्रपाकी कन्चन विच्छा रहेकी छन् ।
आज बिहान बर्दिवास–३ स्थित पानस होटलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको सपथ गराएकी हुन् । लगत्तै मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले अन्य ३ जनालाई मन्त्री पदको सपथ गराएकी छन् । मन्त्रीहरूको कार्यभिजान भने गरिएको छैन ।
यसअघि कात्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएका सोनलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को (३) अनुसार प्रदेश प्रमुखले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । धारा १६८(२) बमोजिमको सरकारले विश्वासको मत पाउन नसकेका कारण राजीनामा दिएकाले संविधानको भावना र मर्म बमोजिम सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय श्रोतले जनाएको छ ।
आइतबार साँझ मात्र कांग्रेसलगायत ६ राजनीतिक दलका नेताले हस्ताक्षर गरी प्रदेश प्रमुखलाई एक पत्र बुझाउँदै दबाब सिर्जना गरेका थिए । सो पत्रमा प्रदेश प्रदेश प्रमुखले पुनः संविधानको धारा १६८ (२)बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु पर्ने जिकिर थियो । सो क्रममा जनकपुरमा प्रदेश प्रमुखविरुद्ध नारावाजी पनि गरिएको थियो । जिम्मेवार राजनीतिक दलले नै गैर राजनीतिक र असंवैधानिक गतिविधि गर्न उद्यत देखिएकाले सपथ ग्रहणको स्थान परिवर्तन गरी महोत्तरीको बर्दिवास सारिएको बताइएको छ ।
संविधानको धारा १६८(३) बमोजिम नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र सदनमा बहुमत सिद्ध गर्नु पर्ने हुन्छ । मुख्यमन्त्री यादवले त्यसरी आफ्नो पक्षमा सदनको बहुमत सिद्ध गर्न नसके बहुमत प्राप्त गर्न सक्ने सदनको कुनै पनि सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
