एनपीएल दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा,पहिलो पटक फ्लडलाइटमुनि खेलिँदै

पुरस्कार राशि यथावत,कसले मार्ला बाजी
banner

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।

एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे-नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै १ करोड १० लाख कायम राखिएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन्।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

साथै क्यानका सचिव पारस खड्काका अनुसार, सिजन-२ मा स्पोन्सर, टोली, टिकट तथा अन्य माध्यमबाट कुल ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अपेक्षा गरिएको छ । स्पोन्सरबाट करिब १५ करोड ३० लाख, आठ टोलीबाट ९ करोड, र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार