
काठमाडौं: गत भदौ २३ गते भएको काठमाडौंकफ जेनजी प्रदर्शनमा गैरकानूनी बल प्रयोग भयो पाइएको छ।
अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले भदौ २३ मा नेपालमा भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।
शनिबार सार्वजनिक भएको संस्थाको प्रतिवेदनमा सो दिन अनावश्यक र अवैध तरिकाले प्रदर्शनकारीमाथि करिब ३ घण्टा अन्धाधुन्द गोली प्रहार गरिएको आरोप समेत लगाइएको छ ।
राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिव तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कुल संख्या भने २२ पुगेको थियो ।
उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ प्रयोग गरेको निष्कर्ष निकालेको छ । उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन-मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।
ए
चआरडब्ल्यूकी एसिया उपनिर्देशक मिनाक्षी गांगुलीले नेपालमा भएको हिंसामा गम्भीर मानव अधिकार उल्लंघन भएको बताइन् । उनले दोषी जोसुकै भए पनि जवाफदेही बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्- ‘अनुसन्धान स्वतन्त्र, समयसीमा तोकिएको र पारदर्शी हुनुपर्छ । कानुन उल्लंघन गर्ने कसैलाई पनि जोगाउनुहुँदैन ।’
एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सेप्टेम्बर ८ मा भएको अत्यधिक बल प्रयोग र त्यसको भोलिपल्ट (सेप्टेम्बर ९) भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ ।
एचआरडब्ल्यूले अध्ययनको निष्कर्षमा हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जोकोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औल्याएको हो ।
प्रतिवेदनमा ९ सेप्टेम्बरमा हिंसा भड्किएको तर सुरक्षाकर्मी भिड नियन्त्रणमा असफल देखिएको उल्लेख छ । त्यस दिन प्रदर्शनसँग सम्बन्ध नभएका व्यक्तिहरूले सरकारी भवन, नेता, पत्रकार, विद्यालय र निजी सम्पत्तिमा आगजनी तथा आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्की सरकारले दुई दिनको हिंसामा तीन प्रहरीसहित देशभर कम्तीमा ७६ जनाको मृत्यु भएको घटना छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ । एचआरडब्ल्यूले सरकारलाई भ्रष्टाचार र युवाहरूलाई सडकमा आउन बाध्य पार्ने कारणहरू सम्बोधन गर्न सुझाव दिएको छ । प्रतिवेदन ५२ जना प्रत्यक्षदर्शी, पीडित, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षा स्रोतसँगको अन्तर्वार्ता, भिडियो तथा तस्बिरको प्रमाण र घटनास्थलको अवलोकनका आधारमा तयार पारिएको एचआरडब्ल्यूले जनाएको छ । अनुसन्धान काठमाडौंमा केन्द्रित रहेको उल्लेख छ ।
ह्यूमन राइट्स वाच सन् १९७८ मा स्थापित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले मानव अधिकार, हिंसा, युद्धअपराधलगायतको अनुगमन गर्छ ।
