
काठमाडौं, १३ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् ।
नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति पत्रमा उल्लेख गरिएको छ ।
नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।
नीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने विषयमा दुवै सहमत भएका छन् ।
यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने, र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति भएको छ ।
हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह र बालेन शाह पक्षका कुमार बेन, के पी खनाल, निश्चल बस्नेत, भुपदेव शाह, सुदिप ढकाल लगायत उपस्थिति थिए ।

