
बर्दिवास, ३ माघ । विभाजित भएको कांंग्रेसले नयाँ पार्टी दर्ता गर्न पनि नपाउने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अघि दल दर्ता नगर्ने निर्णय सुनाएकाले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षले नयाँ दल पनि दर्ता गर्न नपाउने भएको हो ।
नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने निष्कर्षमा आयोग पुगेको हो । ‘नेपाली कांग्रेस दुई खेमाजस्तो देखिएपछि दुवै पक्षका नेताहरु निर्वाचन आयोगभित्र छिर्दा दल विभाजनको प्रक्रियामा आउनुभएको होइन’, आयोगका एक पदाधिकारीले सञ्चारकर्मीसँग भने, ‘विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने प्रश्नमा आयोगले निर्णय दिएकोसम्म हो ।’
आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको भन्दा पनि विशेष महाधिवेशनलाई विधानसम्मत भएको निर्णय गरेको भन्दै उनले त्यही निर्णयलाई आधार मानेर पार्टी विभाजित भएको अर्थ लगाउन नहुने बताए । उनले शुक्रबारको निर्णयका कारण निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने बताए ।
