
बर्दिवास, ७ पुस । झापा ५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन् । नेकपा (एमाले) निकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडा एमाले त्यागेर बालेनको पक्षमा लागेका छन् ।
बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्–आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु । यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा संघ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
त्यस्तै, युवा संघको दमकका उपाध्यक्ष विजय तामाङ पनि सँगै एमाले छाडेर रास्वपातर्फ लागेका छन् । यसअघि नेपाली कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं पनि पार्टी छाडेर बालेनको पक्षमा लागेका थिए।
