
बर्दिवास, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । उनी खुट्टामा चोट लागेका कारण त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । जनकपुरको पहिलो चुनावी सभाकै क्रममा उनलाई खुट्टामा चोट लागेको बताइएको छ ।
बालेनको यत्रो चर्चा भइरहँदा रवि हराएको चर्चा चलिरहेकै बेला मंगलबार उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको हो । रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ । केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
अन्य बिरामीको उपचारमा असर नपरेर र अस्पताल प्रशासनलाई असहज नहोस् भनेर भेटघाटका लागि अस्पताल नआइदिन रविका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गरेका छन् ।
