बालेन आए हात हल्लाए गए, पाँच मिनेट कतै रोकिएनन्

राजनीति

कैलाली, १४ माघ । रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह अहिले सुदूपश्चिम भ्रमणमा छन् । उनको यो भ्रमण कुनै राजनीतिक दलको नेताभन्दा साउथ इन्डियन हिरोको झल्को दिने खालको देखिएको छ । जहाँ गयो मान्छेको भिड ।

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरेकाले हुनसक्छ जहाँ गयो युवापुस्ताको भीड लाग्छ । बुधबार (माघ १४) डडेल्धुरा, बैतडी हुँदै बझाङ पुगेका छन् । यसअघि उनले पूर्वी क्षेत्रको भ्रमण गरेका थिए ।

टीकापुरबाट प्रवेश गरेका बालेन टीकापुर, लम्कीका पार्टीको सम्पर्क कार्यालय गएर धनगढीको घुडसुवामा ‘लन्च ब्रेक’ लिएका थिए । कैलालीको स्थानीय व्यवसायी कवीन्द्र पन्तको निमन्त्रणमा उनीसँगै त्यहीँ बालेनले खाना खाएका थिए । ‘शान्त र सामान्य स्वाभावका बालेन सहज रूपमा प्रस्तुत हुने मान्छे रहेछन्,’ पन्तले भने, ‘उनको समय व्यस्ततासँग पहिलो चरणमा सुदूरको भुगोल बुझ्न आएको जस्तो लाग्यो ।’

भ्रमणकै क्रममा बालेनले कैलाली– १, २, ४ र ५ मा उमेदवारका सम्पर्क कार्यालयमा समेत गएका थिए । उनी प्रायःजसो पाँच मिनेटभन्दा बढी समय कतै रोकिएनन् । उनका समर्थक सेल्फी खिच्न र भिडियो लाइभ गर्नमै व्यस्त रहे ।

‘बालेन सुदूरपश्चिममा आए, सेलिब्रेटी मुडमा घुमे,’ कैलाली उद्योग वाणिज्य संघका सदस्य अजय पाण्डेयले भने, ‘एउटा जनप्रतिनिधि हुन्, अब यहाँका मुद्दा र जनअपेक्षा के थिए बुझ्न सक्नुपर्ने थियो । बालेन जनताका प्रश्नबाट भाग्न हुँदैन ।’

बालेन सुदूरपश्चिम आउँदा आफ्ना पार्टीका उमेदवार र आफ्ना कार्यकर्ताको घेराभन्दा बाहिर देखिएनन् । उनी सार्वजनिक रूपमा पनि कतै बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार