‘शेरे महोत्तरी’ को यो दसौं पटक संसद यात्रा अवरुद्ध होला ?

banner

बर्दिवास, १५ माघ । महोत्तरीका पुराना राजनीतिक खेलाडी शरतसिंह भण्डारी आफ्नो जीवनको दसौं पटकको संसद यात्राका लागि महोत्तरी–२ बाट आफ्नो भाग्य अजमाई रहेका छन् । उनी महोत्तरीका मात्र होइन २०३८ देखि लगातार संसदीय निर्वाचनमा उम्मेदवार हुने देशकै पहिलो हुन सक्छन् ।

उनले पहिलो पटक २०३८ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्यका लागि उम्मेदवार दिएका थिए । त्यतिबेला भर्खरै बुवा गुमाएकोले सहाभुति र बुवाको थोरै लोकप्रियताले काम गर्यो उनले चुनाव तिजे ।पिकनिक खान जाँदा भएको ट्र्याक्टर दुर्घटनामा पृथ्वीमान सिंहको मृत्यु भएपछि शरतको राजनीतिमा उदय भएको हो ।  त्यतिबेला शरतसिंहको हाँस(बत्तक) चुनाव चिन्ह थियो । दोश्रो पटक २०४३ त उनी चुनाव चिन्ह षटकोणबाट अत्याधिक मतले विजयी बने । त्यही बेला उनलाई धनुषामा हेमबहादुर मल्ललाई ‘शेरे धनुषा’ उपनाम दिएको सिको गर्दै ‘शेरे महोत्तरी’ उपनाम दिइयो ।

उनका बुवा पृथ्वीमान सिंह पनि कुनै राष्ट्रिय पञ्चायत सदस्यको चुनाव छुटाउँदैन थिए । त्यतिबेला राष्ट्रिय पञ्चायत सदस्य हुन गाउँपञ्चायतको प्रधानपञ्च वा उपप्रधानपञ्च हुनै पथ्र्यो । उनको घर भएको गाउँ औरहीमा पञ्चायत अर्का घघडान खेलाडी भोजराज घिमिरे पनि भएकाले उनले आफ्नो मतदाता नामावली हाथिलेट गाउा पञ्चायतमा सारेका थिए । तर, पृथ्वीमान पञ्च भए पनि सधैं सत्तासंग दूरी राख्थे । अर्थात जो अच्चलाधिश वा सिडियो आए पनि पृथ्वीमानका विरोधी हुन्थे । त्यसैको रापताप र सहानुभूति शरतलाई काम लाग्यो ।

२०४६ मा बहुदल घोषणा भएछि उनी विलखबन्दमा परे । राप्रपामा लागेर २०४८ सालमा प्रतिनिधि सभा चुनावमा उम्मेदवार भए तर, नराम्ररी पराजित भए । २०५१ सालमा उनी स्वतन्त्र भएर उम्मेदवारी दिए जित निकाले । २०५६ मा कृष्णप्रसाद भट्टराईसंग सामिप्यता बढाएर नेपाली कांग्रेसको टिकटमा उम्मेदवार बने र जित हात पारे । उनी अन्तरिम संसदमा नि सांसद थिए । मधेश आन्दोलनको उभार देखेपछि उनी मधेशवादी बने ।

मधेश केन्द्रित पार्टीबाटै २०६४ सालमा उम्मेदवार बनेका उनले फेरि जित हात पारे । २०७० को निर्वाचनमा मधेश केन्द्रित दल विभाजन भएको थियो । शरत्ले आफैं पार्टी दर्ता गराएका थिए । उनले महोत्तरीको २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि दोश्रो संविधानसभाको निर्वाचन जित्न सकेनन् । संविधान बनेपछि मधेशमा ठूलो आन्दोलन भयो शरत् त्यसमा सहभागि भए । त्यही आन्दोलनको रापतापमा उनले २०७४ सालको प्रतिनिधिसभा सदस्यमा जित हात पारे ।

२०७९ को निर्वाचनमा उनी महोत्तरी–२ बाटै उम्मेदवार बने र पहिलो राष्ट्रपति डा. रामवरण यादवकी भतिजी कांग्रेसकी किरण यादवलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यसपटक पनि उनी महोत्तरी –२ बाटै जसपाको टिकटमा उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचन झैं यसपटक पनि उनलाई कांग्रेसकी किरण यादव, एमालेका कासिम नदाफ र स्वतन्त्रले कडा टक्कर दिएका छन् । २०३८ देखि २०८२ सम्ममा उनले ७ पटक जित र दुई पटक हारको स्वाद चाखेका छन् । योबीचमा उनी करिव दुई दर्जन पटक विभिन्न मन्त्रालय सम्हाल्न पनि भ्याइसकेका छन् । ‘शेरे महोत्तरी’ को दसौं पटकको उम्मेदवारीलाई जनताले अनुमोदन गर्छन कि तिरस्कार त्यसका लागि फागुन २१ कुर्नै पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार