
बर्दिवास, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक नजरबन्दमा परेको हल्ला मिथ्या रहेको पाइएको छ । उनी धेरै दिनदेखि सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका कारण यस्तो हल्ला चलेको हो ।
चुनावमा बहुमत ल्याउने ध्येय बोकेको पार्टीका मुख्य कमाण्डर नै अचानक ‘गुमनाम’ हुँदा चासो र चिन्ता उत्पन्न हुनु स्वभाविक हो । तर, निकट स्रोतका अनुसार रवि बाहिर ननिस्किनुको मुख्य कारण खुट्टाको चोट नै हो । जनकपुरमा भएको रास्वपाको जनसभास्थलमा जाने क्रममा पर्खालमा ठोक्किएर रविलाई खुट्टामा चोट लागेको थियो । त्यसबेला सामान्य ठानिएको चोटले उनलाई अहिलेसम्म दुख दिइरहेको छ ।
चोट लागेको ठाउँमा गहिरो खाल्डो बनेको छ । दिनैपिच्छे डे«सिङका लागि मेडिकल जाने गरेका छन् । निकटस्थका अनुसार उनलाई अहिले शौचालय जान पनि अरुको सहारा चाहिन्छ । ‘चुनावको मुखमा घाउले धेरै दुख दियो, तर अब उहाँ बाहिर निस्किने तयारीमा हुनुहुन्छ,’ निकट स्रोतले भन्यो ।
रविले आजै चितवन जाने सोच बनाएका थिए । तर, चिकित्सकले नजान सुझाव दिएपछि उनी रोकिएका छन् ।
