
बर्दिवास, २१ माघ । अघिल्लो चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दा बालेनले संघीयता विरोधि दृष्टिकोण राखे । तर, अहिले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा खडा भएपछि उनको दृष्टिकोणले ‘यु टर्न’ लिएको छ ।
चुनाव जितेपछि पनि केही समय उनी आफ्नो यही विचारमा अडिए । २०७९ सालको प्रतिनिधिसभा चुनावमा उनले आफ्नो कित्ता थप क्लीयर गरे । उक्त चुनावमा काठमाडौ–२ बाट मतदान गर्ने क्रममा उनले प्रतिनिधिसभा उम्मेदवारलाई मात्रै भोट हाले । प्रतिनधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मतदान गरे पनि उनले प्रदेश सभा निर्वाचनको मतपत्र नै लिएनन् ।
अहिले भने उनी एकाएक संघीयताका कडा पक्षपाति बनेर उदाएका छन् । मधेसी मतदातालाई आकर्षित गर्ने प्रयासमा उनले आफ्नो पहिलो भाषणमै आफूलाई संघीयताको कडा पक्षधरका रुपमा उभ्याएका छन् । पहिले प्रदेश संरचना नचाहिने आफ्नो अडान फेर्दै उनले प्रदेश संरचना अझै बलियो बनाउनुपर्ने तर्क गरे ।
नाम उल्लेख नगर्ने शर्तमा रास्वपार्क कार्यकर्ता भन्छन्, ‘मेयरमा उठ्दा उहाँले काठमाडौका मतदाता आकर्षित गर्न आफूलाई संघीयता विरोधिका रुपमा उभ्याउनु भयो । अहिले मधेस झर्दा संघीयता पक्षधर बन्नुभयो । सुदुरपश्चिम जाँदा यही विषयमा जवाफ दिनुपर्ला भनेर एक ठाउँमा पनि बोल्नुभएन, केवल घन्टी बजाएर फर्किनुभयो । सुदुरपश्चिमेली जनता संघीयता चाहँदैनन् भन्ने उहाँलाई राम्ररी थाहा छ ।’
