नेपाली क्रिकेट टोलीलाई ओलीको सन्देश – ‘विश्वलाई देखाइदिनोस्, नेपाल क्रिकेटको उदाउदो तारा हो’

banner

बर्दिवास, २५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा सहभागी हुन मुम्बई पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै विश्वमञ्चमा ‘असली खेल’ देखाइदिन आग्रह गरेका छन् ।

ओलीले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गर्दै भने ‘तपाईँहरूको प्रदर्शनले विश्वले देख्नेछ कि नेपाल अब क्रिकेटको ‘उदाउँदो तारा’ हो।’

उनले नेपाली खेलाडीहरूको आत्मविश्वास, परिश्रम र देशप्रेम नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । ‘विपक्षी जतिसुकै बलियो होस्, हामीले विपक्षीको हिसाब गरेर होइन, हीनता बोध गरेर होइन(आफ्नो क्षमता देखाएर खेल्नुपर्छ,’ उनले भने, ‘नेपाली युवाको गरत तपाईँहरूसँग छ।’

ओलीले खेलकुद क्षेत्रको सफलता राष्ट्रको समग्र आकांक्षासँग जोडिएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार पार्न क्रिकेटजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल हुने उपलब्धि महत्वपूर्ण सूचक बन्ने बताए । ‘खेलमा हार–जीत स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘तर हामी जित्ने उद्देश्यका साथ उत्कृष्ट खेलकला प्रदर्शन गर्न मैदानमा उत्रन्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ।’

टी–२० विश्वकपका लागि नेपाली टोली मुम्बई पुगेको सन्दर्भमा आएको यो शुभकामना सन्देशले खेलाडीहरूमा थप उत्साह र ऊर्जा थप्ने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमी नेपालीहरू पनि विश्वकपमा राष्ट्रिय टोलीको प्रदर्शनप्रति आशावादी देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार