सिरहा जेलका नाइकेकै साथमा भेटियो कटुवा पेस्तोल गोली

banner

सिरहा, २६ माघ । सिरहा जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेका थिए । गोप्य सूचनाका आधारमा आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ ।’

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका निजका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन् । एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार