देवरानीकोे कलेजो टुक्राले बच्यो जेठानीको ज्यान

banner

काठमाडौं २७ माघ । हाम्रो समाजमा सासु–बुहारी र देवरानी(जेठानीको सम्बन्ध प्रायः राम्रो हुँदैन । देवरानी वाजेठानी जतिनै असल भए पनि एकअर्कालाई खोट नलगाए असल जेठानी देउरानी भइदैनजस्तै भाष्य बनेको छ । तर, यो सदाबहार सत्य वा सबैमा लागु हुन्छ भन्ने कुरा गलत भएको यो घटनाले देखाएको छ ।

फरक बाबु(आमा बाट जन्मिएर अर्को कुनै घरको सदस्यबन्न पुगेपछि सुरु हुने सासु–बुहारी र देवरानी–जेठानीको कतिपय सम्बन्धि प्रेमिल मात्रै हुँदैन जन्म दिने आमा जस्तै बलिलो पनि हुन्छ। पोखरा निवासी ४८ वर्षीया गंगा कुमारी थापा कुँवरलाई आफ्नै देउरानी ३७ वर्षीया सुनीता खड्का कुँवरले कलेजो दान दिएर देउरानी–जेठानीको सम्बन्धमा पनि गहिरो प्रेम हुन्छ भनेर प्रमाणित गरिदिएकी छन।

जेठानी गंगा कुमारी थापा कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । अस्पताल आइपुग्दा उनको जन्डिसको मात्रा अत्याधिक बढेको थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए । नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख प्रा.डा.उमिद कुमार श्रेष्ठका अनुसार चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई लिभर फेलियरको अवस्था आएको थियो ।

त्यसैले चिकित्सकहरुले उनलाई तुरुन्तै कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए । कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामी थापामा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको अवस्था देखिएपछि तत्काल कलेजो प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

सुरुमा उनका दिदी, श्रीमान् तथा बुहारीको परीक्षण गरिएको भएता पनि मिलान हुन नसकेपछि उनकी देवरानी सुनीता खड्का कुँवरको परीक्षण गर्दा उपयुक्त मिलान भई देवरानीको कलेजो जेठानीमा प्रत्यारोपण गरिएको थियो। डा शाहका अनुसार कलेजो प्रत्यारोपणको लागि बिरामी र अंग दान दिन चाहने व्यक्तिको रक्त समुह म्याच भएमा अंग प्रत्यारोपण गर्न मिल्ने हुन्छ। सोही अनुसार यी देवरानी जेठानीको पनि रक्त समुह म्याच भए पछि प्रत्यारोपण गरिएको थियो।

डा शाहले भने ‘केही समय अघि उहाँहरु हाम्रो ओपिडीमा आउनु भएको थियो परिक्षणको क्रममा उहाँमा कलेजो प्रत्यारोपणनै गर्नु पर्ने अवस्था देखियो यस पछि हामी प्रत्यारोपणको तयारी अगाडी बढाएका थियौँ, तर उहाँहरुको परिवारमा उहाँलाई कलेजो दिन मिल्ने चाही देवरानीमा मात्रै देखियो र परिवारको सहमतीमा देवरानीको कलेजो जेठानीमा प्रत्यारोपण गरिएको हो,मेरो करियरमा पनि देवरानीले जेठानीलाई अंग दिएर पुर्नरजन्म दिएको पहिलो घटना हो।’

यस कलोजो प्रत्यारोपण शल्यक्रियामा नेपाल मेडिसिटी अस्पतालक कलेजो प्रत्यारोपण सर्जन, हेपाटोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर, नर्सिङ र फिजियोथेरापी, कार्डियोलोजी, पल्मोनोलोजी सहितको विशिष्टिकृत सेवा दिने चिकित्सकहरुको पनि सहभागिता थियो। हाल अंग दिने र लिने दुवै जना स्वास्थ्य लाभ गर्दै चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

चिकित्सा विज्ञानमा ज्यादै जटिल मध्ये एक स्वास्थ्य सेवा हो कलेजो प्रत्यारोपण । त्यसैले कलेजो प्रत्यारोपण गरेको विरामी ३ महिना सम्म चिकित्सककै निरन्तर फलोअपमा बस्नु पर्ने हुन्छ।

कसरी बिग्रन्छ कलेजो ?
डा. श्रेष्ठका अनुसार कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस तथा पहिचान नभएका अन्य रोगहरूले पनि गम्भीर क्षति पुर्याउन सक्ने बताएका छन् । फ्याटी लिभर (कलेजोमा बोसो जम्ने प्रक्रिया) ले पनि समयमै उपचार नगराईएमा कलेजो बिगार्न सक्ने भएकाले रोगको प्रारम्भिक पहिचान द्वारा गम्भीर क्षतिबाट कलेजोलाई जोगाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार