
बर्दिवास, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार हुने मतदानका क्रममा सुरक्षा व्यवस्थापनलाई दृष्टिगत गर्दै देशभरका ९९ स्थानमा हेलीप्याड तयार पारिएको छ ।
गृह मन्त्रालयको व्यवस्थापनमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरलाई देशका विभिन्न चार स्थानमा स्ट्याण्डबाई राखिने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार निजी क्षेत्रका सम्पूर्ण हेलिकप्टर सरकारले होल्ड गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गृह मन्त्रालयको समन्वयमा हवाई सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्ने छ । त्यसमा नेपाल प्रहरी र सशस्त्रको टोली पनि सामेल हुने भएको छ ।
स्ट्याण्डबाई राखिएका हेलिकप्टरलाई विराटनगर, काठमाडौं, पोखरा र सुर्खेत गरी चार स्थानमा बेश बनाएर राखिने भएको छ । विभिन्न जिल्लाका ९९ स्थानमा हेलिकप्टर सुरक्षित अवतरण हुने गरी हेलीप्याड पनि तयार भइसकेको काफ्लेले बताए ।
निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न १७ स्थानमा बम आतंक मच्चिएपछि सम्भावित घटना नियन्त्रण र सुरक्षित मतदानलाई सुनिश्चित गर्न हवाई गस्तीको योजना बनेको हो । हवाई गस्ती टोलीमा बम डिस्पोजल, भिड नियन्त्रण र उद्धार गर्ने दक्षतायुक्त सुरक्षाकर्मी रहने गृह मन्त्रालयस्रोतले जनायो ।
बुथ क्याप्चर वा आतंक सिर्जना गरिए के हुन्छ ?
मन्त्रालय स्रोतका अनुसार हवाई गस्तीमा रहने सुरक्षाकर्मीलाई भिड नियन्त्रणका क्रममा अवतरण नगरी आकाशबाटै अश्रुग्यास र रबरको गोली प्रहार गर्ने अधिकार दिइएको छ । बुथ क्याप्चर गर्ने वा कुनै किसिमले मतदातालाई आतंकित पार्न खोजिए मात्रै यस्तो सुरक्षाविधि अवलम्बन गरिने भएको छ ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार मतदान केन्द्रलाई नियन्त्रणमा लिने वा त्यस्तो प्रयास गरिए ती व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइने भएको छ ।
प्रत्येक मतदान केन्द्रका बाहिरी भागमा सीसीटीभी जडान गरिएका कारण त्यस्तो गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई घटनास्थलबाटै नियन्त्रणमा लिइने नीति छ । यदि भागेमा प्राविधिक अनुसन्धानका विधिबाट खोजी गरिने भएको छ ।
त्यस्ता व्यक्तिको आपराधिक विवरण (सीएसआर) अद्यावधिक गरिने छ । त्यस्तो गर्दा उनीहरूको चारित्रिक विवरण (पुलिस रिपोर्ट) मा उक्त घटना उल्लेख गरिन्छ । त्यस्तो हुँदा वैदेशिक भ्रमण, अध्ययन, सरकारी सेवा र अन्य अवसरमा बाधा पुग्छ ।
