
दोलखा, २१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका ४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै बोकेर हिँडेका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मतदानको क्रममा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली नै बोकेर हिँडेका थिए। उनीहरूसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
यद्यपि, अहिलेसम्म उनीहरूले बोकेर लगेको मतपत्रको ठेली नै नभेटेकाले पुन मतदान हुनेतर्फ अघि बढेको छ। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो। एमाले र रास्वपाले भने पुन मतदान गर्न माग गरेका छन्। यसबारेमा अनुसन्धान गरेर आवश्यक निर्णय निर्वाचन आयोगले गर्ने जनाइएको छ।
