टी –२० विश्वकपमा लगातार तेश्रो पटक च्याम्पियन बन्यो भारत, बने तीन किर्तिमान

banner

काठमाडौं, २५ फागुन । न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकपको उपाधि तेस्रो पटक उचालेको छ । तेस्रोपटक उपाधि उचाल्दा भारतले कीर्तिमानै कीर्तिमान बनाएको छ ।

भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको पहिलो संस्करण र सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न संस्करण जितेको थियो ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र जोड्नसक्यो ।

न्युजिल्यान्डलाई सस्तैमा रोक्न जस्प्रीत बुम्राहले चार विकेट लिए । चार ओभर बलिङ गरेका बुम्राहले १३ रन खर्चिए । उनको इकोनोमी ३.७५ भन्दा कटेन ।

कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । डार्यल मिचेलले १७ रन जोडे । सान्टनरले तीन चौका र दुई छक्का प्रहार गरे । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको साविक विजेता समेत रहेको घरेलु टोलीले न्युजिल्यान्डविरुद्ध निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५५ रनको योगफल खडा गरेको थियो ।

भारतका निम्ति ओपनर सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाए । ४६ बल खेलेका सामसनले पाँच चौका र आठ छक्का प्रहार गरे । उनले दोस्रो विकेटको निम्ति इशान किशानसँग १०५ रनको शतकीय साझेदारी गरेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्नआएका इशान किशनले ५४ रनको अर्धशतकीय इनिङ खेले । किशनले २५ बलमा समान चार चौका र छक्का प्रहार गरे ।

ओपनर अभिषेक शर्माले ५२ रन जोडे । शर्माले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । ७.१ ओभरमा पभेलियन फर्किन अघि शर्माले ओपनर सञ्जु साम्सनसँग ९८ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

अविजीत रहेका शिभम दुबेले २६ रन बनाए । हार्दिक पण्ड्याले १८ रन बनाए तिलक वर्माले आठ रन जोड्दा कप्तान सुर्यकुमार यादव ‘डक’ आउट भए ।

न्युजिल्यान्डका जिमी निशमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका निशमले ४९ रन खर्चिए । रचिन रविन्द्र र म्याट हेनरीले समान एक विकेट लिए ।

न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेतमा सीमित भएको छ । टी–२० विश्वकपको १० औँ संस्करण खेलेको यो टोलीले सन् २०२१ मा सम्पन्न विश्वकपमा पहिलो पटक उपविजेता बनेको थियो । यसपटक पनि किवी टोलीले उपविजतामै चित्त बुझायो ।

भारतले बनाएका कीर्तिमान

तेस्रो पटक विश्वकप जित्दै भारतले विश्वकपको इतिहासमा आफूलाई सबैभन्दा सफल टिम प्रमाणित गर्यो । यो आफैँमा कीर्तिमान हो । तर, विश्वकै सबैभन्दा ठूलो रंगशालामा एक लाख ३० हजार समर्थकले जित आत्मसात गर्दा अन्य केही कीर्तिमान पनि बन्यो ।

विश्वकपको फाइनलमा सबैभन्दा ठूलो लक्ष्य दिने टिम
जितसँगै भारत विश्वकप इतिहासमा फाइनलमा सबैभन्दा ठूलो लक्ष्य प्रस्तुत गर्ने टोली बन्यो । भारतले न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य प्रस्तुत गर्दै यो कीर्तिमान बनाएको हो । आफ्नौ रेकर्ड तोडेको भारतले यसअघि सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकविरुद्ध १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लगातार दोस्रो पटक विश्वकप जित्ने कीर्तिमान

तेस्रो पटक विश्वकपको उपाधि उचालेपछि भारत विश्वकपको इतिहासमा लगातर दोस्रो पटक उपाधि उचाल्ने पहिलो टिम बन्यो । विश्वपको दशौँ संस्करण समाप्त हुादा भारतले सन् २०२४ मा सम्पन्न नवौँ संस्करण र दशौँ संस्करण जितेको हो ।

घरेलु मैदानमा विश्वकप जित्ने पहिलो टिम

दशौँ संस्करणमा च्याम्पियनबन्दा भारत विश्वकपको इतिहासमा घरेलु मैदानमा विश्वकप जित्ने पहिलो टिम बन्न सफल भएको छ । दशौँ संस्करण समाप्त हुँदा भारतबाहेक कुनै पनि टिम घरेलु मैदानमा उपाधि उचाल्न असफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार