बालेनलाई ‘मधेशी सपुत’ भन्दा घेरिए मधेशी नेता

banner

बर्दिवास, ३० फागुन । बालेन्द्र शाहलाई ‘मधेशी सपुत’ भन्दा संघीय लोकतान्त्रिक मोर्चाका नेताहरू आफ्नै पार्टीभित्र आक्रोशको निशानामा परेका छन् । मोर्चाको बैठकले बालेनलाई ‘मधेसी सपुत’ भन्दै शुभकामना, बधाई र समर्थन दिएपछि उनीहरू आक्रोशित भएका हुन् ।

जसपा नेपालका नेता डा. सुरेन्द्रकुमार झाले भनेका छन्, ‘बालेन मधेसी होइनन् भन्दै घाँटीको नसा फुट्ने गरी चिच्याउनेहरूले आज कुन मुखले उनलाई मधेसी सपुत भनेका होलान् ? घर जलाई खरानी बनाएर शुभकामना र बधाईको निकृष्ट खेल खेल्नु आश्चर्यजनक छ ।’ उनले ६५ वर्षमाथिका नेताहरूलाई विश्राम लिएर नातिनातिनासँग समय बिताउनसमेत सुझाव दिएका छन् ।

सोही पार्टीका अर्का नेता शैलेन्द्र साहले सङ्घीय लोकतान्त्रिक मोर्चालाई जनताको आन्दोलनको मञ्च नभई नेताहरूको स्वार्थ मिलाउने ‘क्लब’को संज्ञा दिएका छन् । जसपा नेता पूर्ण बस्नेतले बालेन शाहले मेयर हुँदा महानगरमा कवाडी व्यवसायी र सुकुम्बासी बस्तीमा डोजर चलाउँदा विरोध गर्ने तिनै मधेसवादी दलहरू आज बालेनको शरणमा पुगेको टिप्पणी गरे ।

विगतमा बालेन शाहलाई ‘मधेसविरोधी’ र ‘गैरमधेसी’ भन्दै आलोचना गर्ने मधेसी नेताहरूले अहिले आएर उनलाई नै प्रधानमन्त्रीका रूपमा समर्थन गर्नुले मधेसको राजनीतिमा ठुलो वैचारिक विचलन आएको राजनीतिक विश्लेषकहरू बताउँछन् । आफ्नै गढमा पराजित भएपछि अस्तित्व जोगाउन बालेनको ‘लोकप्रियता’को सहारा लिन खोजेको भन्दै मोर्चाभित्रै पनि नेतृत्वको आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार