
बर्दिवास, ७ चैत । महोत्तरीका एक युवा इरानी सेनाको नियन्त्रणमा रहेको खुलेको छ । महोत्तरी घर भई उदयपुरको गाईघाटमा जुत्ता पसल रहेका युवा एक सातमादेखि इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
उनी दुबईमा काम गर्नका लागि दुई वर्ष अघि नेपालबाट गएका थिए । झा की दिदी पूजाका अनुसार एक सातादेखि उनी इरानी सेनाको नियन्त्रणमा रहेका छन् । तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले एक साता अघि भ्वाइस म्यासेज पठाएका थिए । उनले भनिन्, ‘तेल लोड भइसक्यो । अव दुबई आएपछि म सिँधै नेपाल आउँछु । मेरो छुट्टी पनि हुने बेला भएको छ ।’
पूजाले भाइ नेपाल फर्कने खबरले खुसी भइरहँदा अचानक आफूहरूलाई अमृत इरानी सेनाको नियन्त्रणमा रहेको अर्को म्यासेज आएको बताइन् । उनले भनिन् ,‘हामी खुसी भइरहेका थियौ । अचानक भाइ नियन्त्रणमा परेको खबर आयो । के कारणले भाइलाई नियन्त्रणमा लिइएको हो ? किन लिइएको हो थाहा भएन ।’
अमृतले थाइल्यान्डको बैककमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी कामका लागि दुवई गएको परिवारले जनाएको छ । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए । यस अघि तेल लिन जाँदा त्यस्तो नभएको तर यस पटक भने हर्मुज स्टेट इलाकाबाट नियन्त्रणमा परेको दिदी पूजाले बताइन् ।
उनले भाइ नियन्त्रणमा परेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयमा रिहाइका लागि अपिल गरिदिन निवेदन दिएको जानकारी दिइन् । उनले भनिन्,‘ उ नेपाली हो नेपाल सरकारले जति सक्दो छिटो भाइको रिहाइ गराओस् ।’
