
बर्दिवास, २ जेठ । शितल अधिकारी, स्मृति पराजुली र सक्षम खतिवडाको सफलताले बर्दिवास नगरनै गर्वित भएको बताइएको छ । शनिबार आज्ञा खबर मिडिया प्रालीलगायतको आयोजनामा एसइईमा ४ जिपीए प्राप्त गरी उतिर्ण हुने शितल, स्मृति र सक्षमको सम्मान कार्यक्रममा वक्ताहरूले यस्तो धारण व्यक्त गरेका हुन् ।
उत्कृष्ट नतिजा ल्याएने बर्दिवास नगरपालिकाभित्रका यी तीन जना विद्यार्थीमा तीनै जना सरकारी स्कूलका विद्यार्थी रहेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रह्लादकुमार क्षेत्रीले नगरपालिकाले शिक्षा क्षेत्रमा दिएको चासोका कारण नै यो उपलब्धि रहेको बताए । नगरका सबैजसो सामुदायिक विद्यालयले यस पटकको एसईईमा ठिकै नतिजा देखाए पनि अझै सन्तोष गर्ने अवस्था नरहेको उनले बताए । यी विद्यार्थीमा बर्दिवास –२ का तेजप्रसाद अधिकारीकी छोरी शितल सैनिक विद्यालय बर्दिवास –६ की छात्रा हुन भने बर्दिवास –३ का लालप्रसाद पराजुलीकी छोरी स्मृति सोही वडास्थित जनता मावि गौरीडाडाकी छात्रा हुन् । त्यसैगरी बर्दिवास – २ का उद्धव खतिवडाका छोरा सक्षम बर्दिवास –१ स्थित देउराली माविका विद्यार्थी हुन् ।
नगर प्रमुख क्षेत्रीले सरकारले शनिबार र आइतबार दुई दिन विदा दिन बारम्बार पत्राचार गरे पनि बर्दिवास नगरमा त्यो लागु गर्न नसकिने बताए । उनले भने यो नगर लागु पदार्थ दुर्व्यसनका कारणले पनि बदनाम छ । हामीले यसलाई न्यूनिकरण गर्न अनेकौ प्रयत्न गरेका छौं । विद्यार्थीलाई विद्यालयमा समय विताउने व्यवस्था पनि यसको एउटा कारण हो । संघीय सरकारले भनेका अरू कुरा मान्न नगरपालिका तयार भए पनि शिक्षण संस्था र स्वास्थ्य संस्थामा यो निर्णय मान्य नहुने उनले जानकारी दिए । ‘बर्दिवास नगरका विद्यालय र अस्पताल आइतबार पनि सदा झै नै खुल्छन्’ उनले भने ‘संविधानले स्थानीय सरकारलाई दिएको अधिकारमा संघले हस्तक्षेप गर्न हुदैन ।’
कार्यक्रममा विशिष्ठ अतिथिकारूपमा बोल्दै जिल्ला शिक्षा इकाई महोत्तरीका प्रमुख निर्मल घिमिरेले यस पटकको एसईइमा बर्दिवासले राम्रो नतिजा प्रदर्शन गरेको जानकारी दिए । उनले भने ‘महोत्तरी जिल्लामा यस पटकको एसईईमा समग्रमा ५८ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्, त्यसमा बर्दिवास नगरलाई छुट्याएर हेर्ने हो भने ८५ प्रतिशत छ ।’ बर्दिवासपछि गौशाला नगरपालिका र तेश्रोमा रामगोपालपुर रहेको उनले जानकारी दिए । उनले भने ‘नाम नसोध्नु होला, महोत्तरीका तीन ओटा संस्थागत विद्यालय (वोर्डिङ्ग स्कूल) को नतिजा शुन्य छ ।’
