गणतन्त्र दिवसमा पनि बालेन नबोल्ने राष्ट्रपतिलाई बोलिदिन आग्रह

banner

काठमाडौं, ११ जेठ । यस वर्षको गणतन्त्र दिवसमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका हुन् ।

प्रधानमन्त्री वालेनले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबारले जनाएको छ । ‘राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट चिठी आएको छ,’ राष्ट्रपति कार्यालय शितल निवासले भनेको छ, ‘यसअघि प्रधानमन्त्रीले गर्ने अभ्यास थियो, यसपटक संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।’

प्रधानमन्त्री वालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको बताइन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो ।

यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री वालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए ।

यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार