धमाधम ग्यास लुकाउँदै व्यवसायी

अर्थ/बाणिज्य

gass-line

काठमाडौं । पसलमा ग्याँस हुँदाहुँदै उपभोक्तालाई ग्याँस नदिने शंखमुलका एक बिक्रेतालाई १३ वैशाखमा वाणिज्य विभागको टोलीले २० हजार रुपैयाँ जरिवाना गर्‍यो ।

१४ वैशाखमा हाँडीगाउँको एक ग्याँस पसललाई पनि यस्तै आरोपमा विभागले ५ हजार रुपैयाँ जरिवाना गर्‍यो । वाणिज्य विभागका सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार ग्याँस भएर पनि उपभोक्तालाई नदिने १० भन्दा बढी बिक्रेता कारबाहीमा परेका छन् ।

केहीलाई नगद जरिवाना गरिएको र केहीलाई स्पष्टीकरणका लागि विभागमा बोलाइएको पौडेलले बताए । ‘पसलमा भरी सिलिण्डर ग्याँस भएर पनि बिक्री गर्न इन्कार गरेको पाइयो’ पौडेलले अनलाइनखबरसँग भने, ‘हामी तीब्र गतिमा कारबाही गर्दैछौं ।’

१४ वैशाखमा विभागले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ र १५ एक–एक वटा ग्याँस पसललाई पनि पाँच–पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । १४ वैशाखमै ७ वटा ग्याँस पसलमा अनुगमन गरेर तीनवटालाई जरिवाना गरेको, तीनवटालाई विभागमा हाजिर हुन बोलाएको र एउटा पसललाई सामान्य निर्देशन दिइएको सूचना अधिकारी पौडेलको भनाइ छ ।

भाउ बढ्ने हल्लाले बजारमा खाना पकाउने ग्याँस अभाव भएको वाणिज्य विभागका अधिकारी बताउँछन् । निगमले अहिले २५ सय ५२ रुपैयाँमा किनेको एक सिलिण्डर ग्याँस १६ सय रुपैयाँमा बिक्री गरिररहेको छ ।

तर, सरकारले परल मूल्यमै ग्याँस बिक्री गर्ने र भाउ बढेर २५ सय रुपैयाँ हाराहारी पुग्ने हल्ला चलेको पाइएको विभागका अधिकारीहरु बताउँछन् । ‘एकै सिलिण्डरमा ९ सय रुपैयाँँ नाफा हुने लोभमा व्यापारीहरुले ग्याँस लुकाएको पाइएको छ,’ अनुगमनमा खटिएका एक अधिकृतले भने ‘रिफिलिङ उद्योगहरुमा पनि यो समस्या हुन सक्छ अनुगमन बढाउनुपर्ने देखिएको छ ।’

नेपाल आयल निगमका एलपीजी विभाग प्रमुख नेत्र काफ्ले अहिले ग्याँस अभाव हुनुको कारण ब्यापारीले लुकाउने र उपभोक्ताले चाहिने भन्दा बढी मौज्दात गर्नु हो । ‘अफ सिजनमा पनि बजारमा ग्याँस अभाव हुनुको कारण व्यवसायीले लुकाउने वा उपभोक्ताले चाहिने भन्दा बढी मौज्दात गर्नाले हो’, काफ्लेले भने, ‘हामीले यस्ता कार्यविरुद्ध कारबाही गर्न वाणिज्य विभागलाई भनिसकेका छौं ।’

तत्कालै ग्याँसको भाउ बढ्ने सम्भावना नरहेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘बाहिर धेरै हल्ला हामीले पनि सुनेका छौं । त्यसैलाई आधार बनाएर बजारमा आपूर्ति श्रृंखला बिग्रने सम्भावना पनि छ’, उनले थपे, ‘तत्काल परल मूल्यमै ग्याँस बिक्री गर्नेबारे कुनै निर्देशन वा तयारी हामीसंग छैन । ’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार