आफन्तले बुझे नवीनाको शव, सहिद घोषणा गर्ने सहमति

समाचार

bardiya-nabinako-sab-bujhe

बर्दिया । बर्दियामा वन्यजन्तु आक्रमणबाट स्थानीयलाई जोगाउन गरिएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकी किशोरीको शव सर्वपक्षीय सहमतिपछि आफन्तले बुझेका छन् ।

राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोलीबीचको छलफलमा आठ बुँदे सहमतिपछि आफन्तले शव बुझेका हुन् ।

सोमबार बिहान करिब १० बजे मधुवन नगरपालिका( २ की ४१ वर्षीया अस्मिता थारु खेतबारीमा घाँस काट्दै गर्दा बाघको आक्रमणबाट घाइते भएकी थिइन् । वन्यजन्तुबाट आफूहरु असुरक्षित रहेको भन्दै पटक(पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए ।

सोही क्रममा सोमबार साँझ आन्दोलनकारीलाई तितरबितर पार्ने क्रममा मधुवन– २ को ओराली बजारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सोही वडाकी १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो । घटनापछि संघीय संसदमा प्रश्न उठ्यो, गृहमन्त्रीले जवाफ दिए र तत्काल छानबिन सुरु गरिएको थियो ।

पटक–पटकको छलफलपछि बुधबार राति आठ बुँदे सहमतिपछि तत्कालका लागि विवाद साम्य भएको छ । सहमतिअनुसार घटनास्थल ओराली बजार क्षेत्रमा नवीनाको सालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, उनलाई सहिद घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने, क्षतिपूर्तिवापत २० लाख रूपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, स्थानीय सरकार अर्थात् मधुवन नगरपालिकाले एक लाख रूपैयाँ प्रदान गर्नेलगायत आठ बुँदे सहमति भएको छ ।

आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर घाइते भएका मधुवन नगरपालिका २ सोनाहका २२ वर्षीय राकेशकुमार थारूको नेपालगञ्ज नर्सिङ होममा उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्नेसमेत सहमति भएको छ ।

यस्तै बाघको आक्रमणबाट घाइते भएकी ४१ वर्षीया अस्मिता थारूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, बाघको आक्रमणबाट जेठ १० गते मृत्यु भएकी ५४ वर्षीय कौसीदेवी पालको परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत आवास व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नेलगायत पनि सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार