
बर्दिवास । कमला– ढल्केबर – पथलैया सडक अन्तर्गत पर्ने बर्दिवास बजारमा पूर्वमा रोयल सेन होटलदेखि सश्चिममा पुरानो नगरपालिका कार्यालयसम्म ६ लेन सडक बन्ने भएको छ । धमाधम स्तरोन्नती भइरहेको महेद्र राजमार्गको बर्दिवासमा स्थापित कार्यालयका प्रमुख राजेश दासले शनिबार सो जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसका नेता पोषण थापाको पहल र बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा भएको एक कार्यक्रममा इञ्जिनीयर राजेश दासले नक्सा देखाउँदै भने ‘ रातु पुलदेखि सडक चौडा गर्दै ल्याएर गलभग २५ मिटर परपुग्दा मात्र ६ लेन गरिन्छ र त्यसैगरी पश्चिममा भब्सी खोलामा चार लेनमा टुङ्ग्याइन्छ ।’ बर्दिवास उद्योग वाणिज्य संघका पदाधिकारीले सडक फराकिलो बनाउने नाममा सौन्दर्य नविगारियोस भन्ने आग्रहलाई आफूले मनन गरेको इञ्जिनीयर दासको भनाई थियो ।
इञ्जिनीयर दासकाअनुसार मुख्य चार लेन सडक उच्चा भएको ठाँउमा पनि दाँया, बाँयाँका दुई सर्भिस लेन साविककै उचाइमा हुनेछन्, अर्थात मुख्य चार लेन अग्लोभए पनि सर्भिस लेन होचै रहनेछन् जसले बजारको सौदन्दर्य मात्र होइन स्थानीयको आवतजावतमा कुनै कठिनाई हुने छैन । बर्दिवासमा रातु पुलदेखि भब्सी पुलसम्म उत्तरतर्फ १२ वटा र दक्षिण तर्फ १४ वटा शाखा सडक रहेको जानकारी दिदै इञ्जिनीयर दासले सबै सडकबाट सर्भिस लेन आउन अग्लो होचो जमिनको सामना गर्नु नपर्ने बताए ।
सर्भिस लेनबाट सडकमा आउन बर्दिवास बजार क्षेत्रमा दुई ठाउँ ‘कट’ राखिने जानकारी दिदैं इञ्जिनीयर दासले भने ‘अहिले नक्सा फिक्स भएको छैन । मैले प्रारम्भिक नक्सा मत्र देखाएको हो । नक्सा केही दिनमा फिक्स भएपछि तपाईहरूसंग पुनः छलफल गर्नेछु ।’ सो क्रममा विशेषगरी पोषण थापाले रातु मोेक्षधाम जाने बाटोमा अन्डरपास राखि दिन अनुरोध गरेका थिए । उनले हाथिलेट जाने कुलोमा कुलो पनि रहने र सवारी पनि छिर्ने गरी अन्डरपासको माग गरेका थिए ।
‘सो ठाउँमा मुख्य सडक अग्लो हुने हुँदा दक्षिणबाट शव लिएर आउने मलामीले सडक उक्लिनु पर्ने र मलामीको लर्कोले सडकसमेत जाम हुने भएकाले अन्डरपास अनिवार्य छ’ थापाले भने ‘यता बजार क्षेत्रमा पनि एक– दुई ठाउँमा त्यस्तो मिलाई दिन आग्रह गर्छौ, जसले गर्दा मुख्य चारलेनको सडकमा मानिसको आवतजावतले वाँधा नपुगोस् ।’ जवाफमा इञ्जिनीयर दासले बर्दिवास उद्योग वाणिज्य संघलगायत स्थानीयको चासोलाई सकेसम्म सम्बोधन गरिनेमा ढुक्क रहन अनुरोध गरेका थिए ।
बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले आफूहरूको चासो भनेको सडक स्तरोन्नती गर्दा बजारको सौन्दर्य नविग्रियोस र कुनै पनि शाखा बाटोबाट मुल सडकमा आउन कुनै कठिनाई नहोस् भन्ने रहेकाले बर्दिवासमा कस्तो बन्दै रहेछ त सडक भनेर जिज्ञासा मेटाउन सडक विभागलाई अनुरोध गरिएको बताए । सडक विभागले बजारकोे सौन्दर्य नविग्रने आश्वासनले आफूहरू ढुक्क भएको बताउँदै इञ्जिनीयर दासलाई धन्यवाद दिए ।


