टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ आउदैं

कला/साहित्य

काठमाडौं, १९ चैत । सामाजिक कथावस्तुमा नयाँ टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ आउने भएको छ । शंकर आचार्यको निर्माण, निर्देशन र शीर्ष अभिनयमा सिरिज आउने भएको हो । आइतबार पोस्टर सार्वजनिक गर्दै आचार्यले यसबारे जानकारी दिएका छन् ।

उनीसहित विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको उक्त शृंखलामा अभिनय हुनेछ । विधुवाको भूमिकामा अस्मिता देखिंदैछिन् ।

यसअघि विशुद्ध कमेडी श्रृंखला ‘भद्रगोल’को १३० भाग निर्देशन गरेका आचार्यले यसपटक भने सामाजिक कथावस्तुमा हात हालेका छन् । पतिको निधनपछि जीवन बाँच्ने, श्रृंगार गर्ने, विवाह गर्ने कुरामा भेदभाव गर्नुहुँदैन भन्ने सामाजिक सन्देश श्रृंखलाले दिने आचार्यले बताए ।

तर शृंखलाकी मुख्य पात्रले श्रीमानको निधनको वर्षौं बितेपनि सेतो पहिरन नै लगाउने कथावस्तु रहेको आचार्य बताउँछन् । ‘मुख्य पात्रले किन यस्तो गर्छिन् भन्ने कुरा थाहा पाउन सिरियल नै हेर्नुपर्छ,’ अनलाइनखबरसँग उनले भने ।

यो सिरियल चैत ३० गतेदेखि हिमालय प्रिमियम, हिमालय टिभी र युट्युब च्यानलमा हेर्न पाइने भएको छ । हिमालय प्रिमियममा शुक्रबार बेलुका ७ बजे, सोही दिन साढे ७ मा युट्युब र सोमबार साढे ५ बजे हिमालय टिभीमा पुनः प्रसारण हुने जनाइएको छ ।

हिमालय टेलिभिजन र आचार्यको ब्यानर वरिष्ठे इन्टरटेनमेन्टको प्रस्तुतिमा सिरियल आउन लागेको हो । यो सिरियलको नौ एपिसोडको छायांकन पूरा भइसकेको जनाइएको छ । आचार्यले हालै दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘मेयर’को पनि छायांकन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार