गुणस्तरीय शिक्षाका आयाम

बिचार

शिक्षा नै समाज समृद्धिको मेरुदण्ड हो शिक्षित जनशक्तिको परिचालनबाट मात्र कुनै पनि देश र समाजको उन्नति सम्भव छ । शिक्षाविना कुनै पनि क्षेत्रले राम्रोसँग कार्य गर्न नसक्ने हुदा पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सवैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने आवश्यकता देखिन्छ ।

नेपाल सरकारले विकास बजेटको अनुपातमा नै शिक्षामा कम खर्च गर्दै आइरहेको छ जसको परिणामस्वरुप सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । शिक्षालाई गुणस्तरिय र प्रभावकारी बनाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने उद्देश्यबाट प्रेरित भइ त्यस्ता रकमहरु शिक्षा मन्त्रालयले शिक्षासँग सम्बन्धित कार्यक्रमहरु संचालनमा ल्याएको पाइन्छ त्यस्ता कार्यक्रमहरु कतिपय शिक्षकहरुसँग सम्बन्धित त छन् भने कयौं विद्यार्थीहरुसँग प्रत्यक्ष रुपमा जोडिएर गुणस्तरीय शिक्षा प्राप्त गर्न अभिप्रेरित गरिरहेको हामी देख्न सक्छौ ।

गुणस्तरिय शिक्षाबारे सामान्य रुपमा चर्चा गर्दा  ज्ञान आर्जन र समस्या समाधानको ज्ञान तथा सिप विकास, जिवन उपयोगीसँग सम्बन्धित शिक्षालाई वुझिन्छ । शिक्षा कितावसँग मात्र सिमित रहनु हुदैन यसले त व्यक्ति समाज र राष्ट्रको अपेक्षा पुरा गर्नु पर्दछ ।

यूनेष्कोले सन् १९९६ मा एक्काइसौँ शताव्दिको गुणस्तरिय शिक्षाका लागि चारवटा आधारस्तम्भहरु सिफारिस गरको छ । पहिलो ज्ञान आर्जन (learning to know)  दोस्रो सीप निमार्ण (learning to do) तेस्रो सहकार्यको संस्कार (eLarning to live together) र चौथो व्यक्तित्व विकास (eLarning to be) हुन ।

नेपालको सन्दर्भमा परिचर्चा गर्दा नेपालका अधिकाशं विद्यालयहरुमा दिइने शिक्षा गुणस्तरियमा केही कमी कमजोरी भएको पाइन्छ । उचित शिक्षा विना एक व्यक्ति आफ्नो जिवनका सवै शैक्षिक लाभबाट बञ्चित रहनु समाज विकासका लागि घाटा हुन सक्छ  । शिक्षाले समाजमा शान्ति बढाउन, गरिविलाई हटाउन, जातिय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना हक अधिकारका बारेमा जागरुक गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
गुणस्तरिय शिक्षाको लागि भनी विद्यालयहरुले आफ्नो क्षेत्र सुधार योजना र निरन्तर मूल्यांकन पद्धती प्रयोग भने गरिरहेकै छन तर पनि यसबाट खासै परिवर्तन भएको पाइदैन । यस्ता कार्यक्रम कक्षा भित्र नपसी कागजी रुपमा मात्र सिमित भएको छ । जसले गर्दा विद्यालय अक्षर चिनाउने स्थल मात्र भएको छ । विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट देशभक्त, कर्मठ, निष्ठावान, स्वाभीमानी र सिर्जनात्मक दक्ष जनशक्ति उत्पादन गर्न धेरै कठिन पाइलाहरु पाल्नुपर्ने देखिन्छ ।

नेपाल सरकारबाट नयाँ शिक्षा ऐन बन्ने र समय सापेक्ष संशोधन गर्ने कामले पनि विद्यालय शिक्षामा खासै परिवर्तन आएको देखिदैन यी लगायत अनेकौँ चुनौतिहरुको कारणले गर्दा विद्यालय शिक्षा गुणस्तरीय हुन सकिरहेको छैन जसको प्रत्यक्ष असर व्यक्ति समाज र राष्ट्रको विकास र भविष्यमा पर्नेछ । शैक्षिक पाठ्यवस्तुहरु समय सापेक्ष परिवर्तन भैरहेको छैन भने त्यस्ता पाठ्यबस्तुलाई व्यवहारिक रुपमा सिक्न र सिकाउनको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्रीहरुको अभाव कतिपय अवस्थामा त पाठ्यपुस्तक उचीत समयमा उपलब्ध गराएको पनि पाइदैन जसको फलस्वरुप पनि शिक्षाको गुणस्तरमा ह्रास आएको हो । असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि अवाश्यक छ ।

छ । गुणस्तरिय शिक्षा र ज्ञानले व्यक्ति र समाजको विकासका लागि आवश्यक पुर्वाधार तयार गर्न समेत सहयोग गर्दछ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभुमि तयार गर्नु हो । समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजकको उन्नति प्रगति परिर्वतन र विकाससँग जोडिएको हुनुपर्दछ ।

गुणस्तरीय शिक्षाका लागि उपयुक्त सिक्ने सिकाउने वातावरण, पूर्वाधार, गुणस्तरीय शैक्षिक साधान, प्रतिभाशाली शिक्षक र  दिगो राजनितिक स्थिरता, नितिगत प्रतिवद्धता र निरन्तरता आवश्यक छ । अस्थीर राजनीतिले प्रत्यक्ष असर शिक्षामा पार्ने गर्दछ । अर्कोतर्फ चर्चा गर्दा नेपालको विद्यालयहरुमा दलिय राजनितिको चरम प्रभावबाट मुक्त हुन सकेका छैनन । शिक्षा क्षेत्रमा दलिय कार्यकर्ताकै रुपमा प्रस्तुत हुनु, दलको झण्डा बोक्नु दर्भाग्य हो जसले गुणस्तरीय शिक्षामा अवरोध ल्याएको पाइन्छ र इमान्दार र पेशागतनिष्ट शिक्षकहरुलाई निरास गर्दै ल्याएको पाइन्छ । विद्यालयलाई दलिय राजनीतिको चरम प्रभावबाट मुक्त गर्न विद्यार्थीहरुको सिकाइ स्तरमा परिवर्तन ल्याउन तिनै तहका सरकार शिक्षा मन्त्रालय, विद्यालय तथा सरोकारवालाहरुले ठोस पहल थाल्नु पर्दछ ।

राज्य वा सरकारको दृढ इच्छा शक्ति विना शिक्षा क्षेत्र मात्र होइन कुनै पनि क्षेत्रको अपेक्षाकृत सुधार सम्भव छैन । नेपालका तिनै तहका सरकारहरु (संघिय, प्रदेश र स्थानीय) को प्राथमिकतामा शिक्षा परेको देखिदैन । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक हुन सकेको छैन यस्तै संघिय शिक्षा ऐन अहिलेसम्म पारित हुन नसक्नु, शिक्षा निति २०७६ को कार्यान्वयनमा जोड नदिनु र तीनै तहका सरकारले विनियोजन गरको बजेटलाई हेर्दा पनि नेपालका प्रमुख राजनितिक पाटिहरु र सरकारको प्राथमिकतामा शिक्षा कहिल्यै नपरेको प्रष्ट हुन्छ । गुणस्तरिय शिक्षाका लागि सरकारले प्राथमिकताको क्षेत्रमा शिक्षालाई राखि अल्पकालीन मध्यकालिन र दिर्घकालिन योजना र कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्नु आवश्यक छ ।

गुणस्तरीय शिक्षाका लागि सरोकारवाला निकायहरुले निरन्तर अनुगमन गर्दै पूर्ण कार्यान्वयन गर्न सक्नु पर्दछ । विद्यालयभित्र विद्यालय व्यवस्थापन समितिको भुमिका संवैधानिक तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुन्छ । विद्यालय व्यवस्थापन समिति राजनितिक हस्तक्षेपबाट पुर्ण रुपमा मुक्त रहनु पर्दछ । प्रध्यानाध्यापक विद्यालयको नेतृत्व हुनाले त्यसको नियुक्ति प्रकृया अझ व्यवस्थित हुनु अतिआवश्यक छ ।

गुणस्तरिय शिक्षाका लागि आवश्यक पर्ने ऐन कानून निमार्ण गर्न तदारुकता आवश्यक छ । जसका लागि जनप्रतिनिधिहरुको शिक्षा ऐन सुधारमा चासो राख्नु आवश्यक छ । भौतिक संरचनाको उचित व्यवस्थापन पनि हुन जरुरी छ ,विद्यालयमा भवन कक्षाकोठा, शौचालय, पूस्तकालय, खेलमैदान, खानेपानीको व्यवस्था, विभिन्न ल्याव, चमेना गृह, फर्निचर, बगैचाको उचित व्यवस्थापन हुन आवश्यक छ । भौतिक पक्षमा विद्यार्थीहरुको सन्तुष्टिसँग जोडेर हेर्नुपर्छ र सुधार गर्ने प्रयास गर्नु आवश्यक छ ।

यसैगरी गुणस्तरीय शिक्षामा शिक्षकको भुमिकामा पनि भर पर्दछ, आजभोलि नेपालमा शिक्षण पेशाप्रतिको आकर्षण नेपालमा कमी भएको छ । शिक्षकको सेवा सुविधा र शिक्षकलाई समाजले हेर्ने दृष्टिकोण फरक पर्दै गएको पाइन्छ । शिक्षण पेशा अन्य पेशाहरु जन्माउने पेशा भएकाले पनि शिक्षकहरुको सेवा सुविधा तलव भत्ता राम्रो हुनु आवश्यक छ भने मर्यादाक्रममा पनि माथि राख्नु पदर्छ । जसले गर्दा विद्यार्थीहरुको सिकाइ र गुणस्तरिय शिक्षामा शिक्षकको भुमिका सर्वेापरि हुने हुन्छ यस तर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ ।  शिक्षकहरुलाई समाजको आदर्शको रुपमा हेर्न र देख्न पाउने बनाउनु पर्दछ ।

विद्यार्थी शिक्षक अनुपात वढी र विषयगत शिक्षकको दरबन्दी कम हुनु, दरबन्दी अनुसार शिक्षक नियुक्ति नहुनु, कक्षाकोठाको सिकाइ, विद्यार्थी मूल्यांकन, शिक्षण सिकाई प्रकृयामा नै नकारात्मक प्रभाव पार्दछ । शिक्षकहरुलाई विभिन्न तालिम, पुनतार्जगी तालिम, विषयगत तालिम तथा अन्य तालिमको अभावमा बार्षिक योजना साप्ताहिक योजना दैनिक पाठ योजना, विद्यार्थी मूल्यांकन, आदिमा कमी कमजोरी देखिन्छ सो सुधार गर्नु आवश्यक छ र शिक्षालाई जिवन र जगतमुखि बनाउने भुमिकाको लागि शिक्षण पेशालाई वढी मर्यादित बनाउनु पर्दछ ।

विद्यालयमा बालमैत्रि वातावरण झन् आवश्यक छ , कक्षाकोठाहरु सुधार केन्द्र जस्तो हुनु हुदैन । विद्यालयमा घरमा र समाजमा बालमैत्री वातावरण सृजना गर्नु अपरिहार्य छ । शिक्षण केन्द्रीत सिकाइवाट बाल केन्द्रीत सिकाइ प्रणाली, परम्परागत शैक्षिणिक विधिबाट प्रगतिशिल शिक्षामा प्रवेश गर्नु अवश्यक छ । गुणस्तरीय शिक्षामा नविनतम् प्रविधिको प्रयोग गर्नु पनी अति आवश्यक छ । आज विश्व नै एक घरको रुपमा रुपान्तरण भएको बर्तमान परिवेशमा विश्वका उही समूहका बालबालिकाहरुसँग प्रतिस्पर्धामा खरो उत्रन सक्ने बनाउन पनि नविनतम् प्रविधिको प्रयोग गर्नु आवश्यक छ । जसका लागि अनलाईन शिक्षालाई प्रयोग गर्नु आवश्यक छ ।

यस्तै गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका सर्वोपरि रहन्छ, गुणस्तरीय शिक्षाका लागि अभिभावकीय शिक्षालाई समेत जोड दिनु आवश्यक छ । जसले गर्दा विद्यार्थीहरुको चौतर्फी विकासका साथै विद्यार्थीहरुको सपना पुरा गर्न मदत पुग्ने देखिन्छ, साथै नेपालमा भएका विभिन्न शिक्षा निति, ऐन नियमावली र पाठ्यक्रममा सुधार, समयअनुसार परिमार्जन गर्दै कार्यान्वयनमा जोड दिनु आवश्यक छ , भने नेपालको प्रत्येक गाउगाउमा वालवालीकाहरुलाई शिक्षामा पहुँच पुर्याउनु पर्दछ ।
यसरी हामी के निष्कर्ष निकाल्न सक्छौ भने गुणस्तरीय शिक्षा हामीले चाहादै गर्दा यससँग सम्बन्धित कमी कमजोरीहरुलाई हामी सवै (शिक्षक विद्यार्थी अभिभावक) हातेमालो गरी समाधान गर्दै समुन्नत शिक्षित नेपाल पुरा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार