
काठमाडौं ३ असार । काठमाडौं महानगरपालिका वडा नं। ४ कार्यालयको आयोजनामा ‘दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिप’ वुधबार सुरु भएको छ, जहाँ तीन सय चार खेलाडी प्रतिस्पर्धा सहभागि छन् ।
बालुवाटार प्यालेस ब्यांकेट एन्ड इभेन्ट्समा आयोजित प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू र कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले चेसको गोटी चाल्दै उद्घाटन गरे । हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा स्वीस लिग प्रणालीको आधारमा आयोजित प्रतियोगितामा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ गरी गल्र्स र ब्वाइजका कुल ६ स्पर्धासमावेश गरिएको छ ।
दुई दिने प्रतियोगिताको पहिलो दिन कक्षा १ देखि ४ गल्र्सतर्फ चार राउन्ड सम्पन्न खेलमा बाँसबारी माविकी विद्या ढुंगानाले शतप्रतिशत जित हात पार्दै शीर्षस्थान कब्जा गरिन् । समान ३।५ अंकमा जोडेपनि टाइब्रेकरको आधारमा सिमरन कार्की दोस्रो र सुप्रिया तामाङ तेस्रोमा रहे । दुवै खेलाडी बाँसबारीकै हुन् ।
कक्षा ५ देखि ८ गल्र्सतर्फ तीन राउन्डको खेल सकिँदा पञ्चकन्या आधारभूत विद्यालयकी करुणाकुमारी महत, महेन्द्र राष्ट्रिय माविकी अनुषा विक, बाँसबारीकी कृतिका गुरुङ, दुर्गा भवानी एकेडेमीकी विज्ञता घिमिरे र पञ्चकन्याकी अनिता लामिछाने समान ३ अंकसहित शीर्ष पाँचमा छन् । कक्षा ९ देखि १२ गल्र्समा तीन राउन्डको समाप्तिमा आशिर्वाद बोर्डिङकी निङ्वा पोमू र दुर्गा भवानीकी स्वष्तिका तामाङले सर्बाधिक ३ अंक जोडेका छन् ।
कक्षा १ देखि ४ ब्वाइजतर्फ दुई चरणको खेल सकिँदा नेसनल क्रिएटिभ को एजुकेसन स्कुल ९एनसीसीएस० का श्रेयांश सापकोटा र बाँसबारी माविका प्रसिद्ध श्रेष्ठ, विराट ढुंगाना र विनेश तामाङले शतप्रतिशत सफलतासहित २–२ अंक जोडेका छन् ।
तीन राउन्डको खेल सकिएको कक्षा ५ देखि ८ ब्वाइज स्पर्धामा बाँसबारी माविका सन्देश भट्ट, आशिर्वाद बोर्डिङका प्रमोद उपाध्याय, दुर्गा भवानीका दिवाज धमलासहित १० खेलाडीले सबै खेल जितेर ३–३ अंक बनाएका छन् ।
ब्वाइजकै कक्षा ९ देखि १२ तर्फ तीन राउन्ड सकिँदा साउथ वेस्र्टन कलेजका अभिनव पाण्डे, न्युटन हाईस्कुलका सोहन प्रजापति, ओलभिर पब्लिक हाईस्कुलका छेनम तामाङसहित नौ खेलाडीले सबै खेल जितेर समान ३ अंक बटुलेका छन् ।
स्कुल च्याम्पियनसिपको लागि शीर्ष १० खेलाडीको मूल्यांकनबाट छिनोफानो गरिनेछ । त्यसका लागि मूल्यांकनको आधार प्रत्येक स्पर्धामा पहिलो हुनेको १०, दोस्रोको ९, तेस्रोको ८, चौथोको ७, पाँचौंको ६, छैटौंको ५, सातौंको ४, आठौंको ३, नवौंको २ र दसौंको १ रहेको छ । सर्बाधिक अंक हासिल गर्ने टिम चेयमरमेन कप अन्तर स्कुल चेस च्याम्पियन बन्नेछ । गत वर्ष भएको पहिलो संस्करणमा बाँसबारी माध्यमिक विद्यालय च्याम्पियन भएको थियो ।
