होलीका वहानामा भएको त्यो मजाकले उनी हराइन्

banner

बर्दिवास, २९ फागुन । होली खासगरी तराई –मधेशमा मनाइने खास पर्व हो । मधेशी समुदायले मनाउने पर्वहरूमध्ये होली मात्र यस्तो पर्व हो जसमा खाने, पिउने कुरामा कुनै बन्देज हुदैन । अन्य प्राय सबै पर्व ब्रत गर्ने हुन्छन् दशैंमासमेत यहाँ निराहार ब्रत गरेर देवी दुर्गाको उपसना गरिन्छ । मधेशमा होली ब्यंग, विनोद वा भनौं हास्यरस मिश्रित पर्व पनि हो । ‘बुरा नमानो होली है..’ भनेपछि सबै सकिन्छ ।

यस्तै ‘बुरा नमानो होली है ..’ ले मानिसलाई कति मर्माहत बनाउँछ भन्ने एउटा कटु अनुभव सम्झन्छु । त्यो पनि आफ्ना जवानीका दिनको वा भनौं कलेज जीवनको । होलीको पूर्वसंन्ध्यामा गरिएको यस्तै एउटा भद्दा मजाकले उनी सदाका लागि हराइन् । मेरा आँखाले उनको सुन्दरता राम्ररी नियाल्न पनि पाएका थिएनन् । उनी त्यसपछि कलेजमा देखिन छाडिन् ।

राराव क्याम्पस जनकपुरमा म प्रमाणपत्र तहको दोश्रो वर्षमा पढ्थे । कुरा २०४३ ताकाको हो । भर्खर एसएलसी उतिर्ण गरेर राराव क्याम्पस जनकपुरमा प्रमाण पत्र तहको पहिलो वर्षमा भर्ना हुन आएकी थिइन् एक किशोरी । उनी क्याम्पस आएको पहिलो दिननै मसंग सामान्य चिनजान भएको थियो पहिलेदेखिकै चिनजानकी उनकी साथी मार्फत । स्कूलबाट भर्खर आएका विद्यार्थीले क्याम्पसको सूचना पाटीमा टाँस गरिएको रुटिङ सार्न जान्दैनथे, सिनियरकै सहारा लिनु पथ्र्यो । यसरी रुटिङ सारेर सहयोग गर्न केटाहरूको दुई थरी उदेश्य हुन्थ्यो । एक थरीको उदेश्य यही वहाना नजिकीएर आफ्नो संगठनको सदस्यता बढाउने अर्को थरी हुन्थे लफंगा ।

देशमा पंचायति राज थियो, दलहरू प्रतिवन्धित र भूमिगत थिए । विद्यार्थी संगठन दलका विचार बोकेर क्रियाशिल हुन्थे, किनभने विद्यार्थी संगठनलाई क्याम्पस हातामा बोल्ने छुट थियो । म पनि त्यही मध्येको थिएँ । अनेरास्ववियु (पाँचौ) को सो क्याम्पस एकाईको अध्यक्ष । उनी मेरो सम्पर्कमा आउनु मेरो लागि खुसीको कुरा थियो । रुटिङ सूचना पाटीबाट उनको कपिमा सारिसकेपछि मैले उनलाई रुटिङ बुझाएको थिएँ । उनकै तिघ्रामा कापी राखेर उनलाईलाई सम्झाएको थिएँ ‘यो भनेको यो हो, यो भनेको यो, अब बुझ्यौ ?’ अनि भनेको थेँ ‘क्लासमा, लाइब्रेरीमा वा अरू केही अझ्ठ्यारो पर्दा भन्नु है ? ’ त्यसपछिका केही दिन मेरा आँखाले उनलाई खोज्थे, देख्थे तर न उनी मेरो नजिक आइन् न म उनको छेउ गए ।

टाढैबाट इशाराले उनलाई प्रभावित पार्ने प्रयास भने जारी थियो । केही दिनपछि उनी मेरो नजिक आएर भनिन् ‘तपाई कहाँ बस्नुहुन्छ ?’ मैले जवाफ दिए ‘किशोरीनगर ।’ उनले आफै भनिन ‘म मिल्स एरिया ।’ केही क्षणको मौनतापछि उनले गाह्रो मान्दै फेरि सोधिन ‘कति वजे हिड्नुहुन्छ नि डेराबाट ?’ मैले भने ‘त्यस्तै १० वजे तिर ।’ उनले भनिन ‘मेरो पनि त्यही टाइम हुन्छ ।’ मैले भने ‘ए …केही भयो ? मैले केही सहयोग गर्न सक्छु ?’ उनले डराएकोजस्तै गरी भनिन् ‘मलाई एक्लै आउन डर लाग्छ ।’ मैले फेरि सोधें ‘केही भयो र ?’ उनले भनिन ‘नाई केही भएको छैन । यहाँका केटाहरू खराव छन् ।’

त्यसपछि हामी शिव चोकमा जो अघि आएपनि पर्खन्थ्यौं र संगै क्याम्पस आउ जाउ गर्न थ्याल्यौ । उनी रूपमा यति राम्री थिइन कि हरेकका आँखा उनीमा सोझिन कर लाग्थ्यो । उनीसंग आउ जाउ गर्न थोपछि थाहा भयो उनलाई पछ्याउने केटाहरू सयौं रहेछन् । उनी सुन्दरी मात्र होइन एकटा सभ्रान्त परिवारकी छोरी पनि थिइन । केही दिन यसरीसंगै आज जाउ गरेपछि एक दिन यस्तो घटना भयो उनी त्यसपछि कहिल्यै सो क्याम्पसमा देखा परिनन् । मेरा आँखाले उनलाई खोजी रहें तर आजसम्म भेटेको छैन ।

हामी गफ गर्दै क्याम्पस हातामा के प्रवेश गरेका थियौ दुवैका आँखा एकैपटक गेटकै माथि टाँसिएको एउटा पोष्टरमा परे । म आश्चार्यचकित भए उनी मरेतुल्य भइन । न मैले उनलाई हेर्न सकें न उनले मलाई केही भन्न सकिन । पोष्टरमा माथि उनको नाम लेखेर ‘आइ लभ यु’ लेखिएको थियो, बीचमा उनको नग्न तश्विर थियो र तल लेखिएको थियो ‘बुरा नमानो होली है ।’ यस्ता पोष्टर ५० औं स्थानमा टाँसिएका थिए क्याम्पसभरी । पछि थाहा भयो यो अश्लिल हर्कत नेविसंघले गरेको रहेछ ।

अहिलेको अवस्था हेर्ने हो भने ‘नग्न तश्विर होइन, यौन क्रियाकलापको भिडियो लिक हुँदा पनि खास मतलव राख्दैनन । तर त्यतिबेला एउटा किशोरीका लागि यो मरणासन्न हुने अवस्था थियो । त्यसैले होला उनले पढाई छाड्ने निधो गरिन शायद् ..।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार