काठमाडौं, ८ वैशाख । प्रिमनसुन सुरु भएयता नेपालमा गर्मी बढ्दै गएको छ । आउँदा दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।
यस दिन काठमाडौंको अधिकतम तापक्रम ३२.१ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४०।६, सिमराको ४०.३, धनगढीको ३९.८, जनकपुरको ३९.४, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४०.७, सिमराको ३६.२, धनगढीको ४०.६, जनकपुरको ३८, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शुक्रबारको तुलनामा शनिबार नेपालगन्ज, धनगढीको तापक्रम थोरै घटेको देखिन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मौसममा बदली हुँदा केही स्थानमा तुलनात्मक रूपमा तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।