
काठमाडौं : चिसो मौसम सुरु भए संगै अस्पतालमा सिजनल फ्लुका बिरामी बढ्न थालेका छन।
नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट संक्रमित भएर अस्पताल आउने बिरामीहरूको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ।
यतिखेर अस्पतालमा दैनिक १५ देखि २० जना जना रुघाखोकी, , निमोनिया, दम, ज्वरो तथा ब्रोङ्काइटिसको समस्या लिएर अस्पताल आउने बिरामी बढ्दै गएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बताए। ‘ चिसो मौसम परिवर्तन सुरु हुने समय भएर होला
चिसोका कारण हुने फ्लुको संक्रमणबाट संक्रमित हुने बिरामीको संख्या बढ्न थालेको छ। युवा तथा वृद्धहरू रुघाखोकी ज्वरो तथा निमोनियाका बिरामी बढेका छन’ अस्पतालका निर्देशक डा बसौलाले भने।
विशेषगरी उपत्यकाबाट आउने धेरै बिरामीहरू चिसोका कारण घँटी खसखसाउने, रुघालाग्ने, ज्वरो लागेर आउनु बिरामी धेरै रहेका टेकु अस्पतालले जनाएको छ।
यसरी बच्न सकिन्छ फ्लुबाट
अक्सर चिसो सुरु हुने यो मौसममा फ्लुका बिरामी बढ्ने चिसोको कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले शरीरलाई सकेसम्म चिसोबाट जोगाउनुपर्छ।
चिसो सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका विरामी बढ्ने गर्छन्। रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा यसले श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने भएकाले समयमै उपचार गर्न गर्नु पर्ने सरुवा रोग विशेज्ञ डा शेरबहादुर पुनको भनाइ छ।
चिसोबाट बच्नका लागि अहिलेको मौसममा बिहान–बेलुकीको चिसोमा सकभर बाहिर हिँडडुल नगर्ने, हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कने, तातोपानी प्रशस्त पिउने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने समेत डा. पुनले बताए।
यस्तै मौसमी फलफूलहरु विशेष गरी भिटामिन सीयुक्त फलफूल खाने र चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन तुँवालो लागेका बेला मास्क प्रयोग गर्ने, हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिम प्रयोग गर्दा पनि चिसोको प्रकोपबाट सुरक्षित हुन सकिन्छ।
यसका लागि न्यानो कपडा लगाउने तथा बिहानको चिसो हावामा घरबाट ननिस्कनु राम्रो हुन्छ। दिउँसो घरबाहिर निस्किँदा पनि मास्क लागाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ। यस्तै, छाती दुख्ने तथा श्वाश फेर्न गाह्रो हुने समस्या बढ्दै गयो, घ्यारघ्यार हुँदै गयो भने सकेसम्म चाँडो चिकित्सककहाँ जानु राम्रो हुने गर्छ।
धेरै वृद्धवृद्धाहरू हरेक दिन बिहान चिसो पानीमा नुहाउने हुँदा सके सम्म चिसो पानीले ननुहाउनु राम्रो हुन्छ। चिसोले दीर्घ रोग लाग्नुभन्दा संक्रमणहरूलाई बढाउने हुँदा दीर्घ रोगको समस्या झेल्दै आएकाहरूले सकेसम्म आफूलाई चिसोबाट जोगाउनु राम्रो हुने चिकित्सकहरू बताउँछन्।
