
काठमाडौं: साउथ इस्ट एशिया क्षेत्रमा मधुमेह जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै भएको हुँदा सचेत रहनु पर्ने अवस्था आएको विज्ञहरुले बताएका छन।
इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलनमा आइडीएफका अध्यक्ष डा वंशी सबोले विश्वको अन्य देशहरुमा साउथ इस्ट एशियाली देशमा मधुमेहका बिरामी बढ्दै गएका हुनाले संयुक्त रुपमा गाइडलाइन्स बनाएर मधुमेह नियन्त्रण गर्नु पर्ने बताएका हुन।
काठमाडौंमा शनिबार देखि सुरु भएको मधुमेहसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आइडीएफका अध्यक्ष डा वंशी सबोले भने ‘साउथ इस्ट एशियाली देशमा मधुमेह विश्वको अन्य देशमा भन्दा अलि बढी छ त्यसैले साउथ इस्ट एशियाली देशलाई मधुमेहको राजधानी पनि भन्ने गरिन्छ यस्तो अवस्थामा मधुमेहको रोकथाम र नियन्त्रणको लागि संयुक्त रुपमा गाइडलाइन्स बनाएर जान सकिन्छ’।
उनले जीवनशैलीसँग सम्बन्धित यो रोगकाबारेमा जनचेतना र समयमै उपचार नै यसको मुख्य आधार भएको बताए । आफनो खानपान र एक्सरसाइजमा मात्र ध्यान दिएमा धेरै हदसम्म मधुमेह कम गर्न सकिने हुँदा सचेत रहनु पर्ने बताए।
नेपालमा उक्त सम्मेलको मुख्य आयोजना गरेको यसपटक डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालका अध्यक्ष डा अमित शाक्यले मधुमेहका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको बताए। डा शाक्यले भने’बढ्दो मधुमेह रोग, यसको उपचार तथा नियन्त्रणमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको हो,एक अर्काको देशमा भइरहेका उपचारको अनुभव हुन्छ भने, बिरामीको अवस्था तथा नयाँ नयाँ कुराको बारेमा जानकारी हुने र धेरै कुरा सिक्ने मौका मिल्छ । यसले हामीलाई बिरामीलाई सेवा दिन पनि धेरै सजिलो हुन्छ त्यसैले यो सम्मेलनको आयोजना गरिएको हो’।
सम्मेलनमा यो क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको र त्यसमध्ये ५० जना अन्तराष्ट्रिय विज्ञहरु रहेको आयोजक समितिका सचिव डा सन्तोष शाक्यले जानकारी दिए। नेपालमा प्रत्येक बर्ष मधुमेहका बिरामी बढ्दै गएको र प्रत्येक ७ जना मध्ये एक जना नेपाली मधुमेह हुने गरेको तथ्याङकहरुले देखाउदै आएका छन। उक्त सम्मेलनमा मधुेमह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य समस्या लगायतका विषयमा प्रस्तुतीकरण रहेका छन्।
