पुनमकली बनिन् ‘ मिस हात्ती‘ सुन्दरी २०८२’

समाचार

काठमाडौं, १२ पुस । हात्तीको ब्युटी पेजेन्टमा ४० वर्षकी पुनम कली २५० अंक ल्याएर प्रथम हुँदै मिस हात्ती ‘सुन्दरी २०८२’बनेकी छन् । चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सवअन्तर्गत आज दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता भएको हो ।

यसैगरी २० वर्षकी २३५ ल्याएर द्वितीय र ३५ वर्षकी चम्पा कली २२४ अंक ल्याएर तृतिय भएकी छन् । प्रतियोगितामा ४० वर्षकी पूजा कलि र २६ वर्षकी समृद्धि कलि पनि सहभागी भएका थिए । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रबारदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको हो ।

सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका थिए ।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।

हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार