
काठमाडौं, १८ माघ । पर्सी अर्थात यही २० माघ मंगलबार फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।
लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उनले बताए ।
त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू–भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मको हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन भनेको छ ।
