
लण्डन, ४ चैत । बेलायतमा कार्यालयभित्र भएको जातीय अपमानसम्बन्धी एक घटनामा अदालतले महिला कर्मचारीको पक्षमा फैसला गर्दै उनलाई करिब ४६ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन आदेश दिएको छ।
यो फैसला बेलायतको रोजगार सम्बन्धी अदालत एम्प्लोयमेन्ट ट्राइब्युनल (रोजगार न्यायाधिकरण) ले गरेको हो।
पीडित महिला कर्मचारी बर्नाडेट हेयस आयरिश मूलकी थिइन्। उनको आरोप अनुसार उनी काम गर्ने कम्पनीका निर्देशक मिक एटकिन्सले उनको आयरिश पहिचानको मजाक उडाउँदै बारम्बार अपमानजनक शब्द प्रयोग गर्थे।
हेयसका अनुसार उनका मालिकले कार्यालयमा अरू कर्मचारीहरूको अगाडि उनलाई बारम्बार ‘पोटेटो’ ९आलु० भनेर बोलाउने गर्थे। उनले यसलाई आफ्नो आयरिश पहिचानमाथि गरिएको अपमानजनक टिप्पणी बताएकी छन्।
यति मात्र होइन, उनले ह्वाट्सएप सन्देशमार्फत पनि ‘पोटेटो’ भनेर सन्देश पठाउने गरेको अदालतमा बयान दिएकी थिइन्। अदालतले कम्पनीलाई हेयसलाई चार हप्ताको तलब बराबरको रकम (करिब ४६ लाख रुपैयाँ), क्षतिपूर्तिका रूपमा दिन आदेश दिएको छ।
सुनुवाइका क्रममा अदालतले यो घटना सामान्य मजाक नभई कर्मचारीमाथि गरिएको जातीय अपमान भएको निष्कर्ष निकालेको थियो।
