मन्त्री फकिराको ‘स्टन्ट’ ले व्यवसायी आजित, अब नसहने चेतावनी

banner

बर्दिवास, ८ साउन । मधेश सरकारका गृह, कानुन तथा सञ्चार मन्त्री फकिरा महतोको ‘स्टन्ट’ले प्रदेशभरीकै व्यवसायी आंजित भएका छन् । मन्त्री महतोले अनुगमनका नाममा होटल व्यवसायीलाई अभद्र व्यवहार गर्ने, धम्क्याउने, बदनाम गराउने कार्य गरेकोभन्दै व्यवसायी आक्रोशित भएका हुन् ।

बर्दिबास उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अब पनि मन्त्री महतोले व्यवसायीलाई बदनाम गराउने क्रियाकलाप जारी राखे सहेर नबस्ने चेतावनी दिएका छन् । आजसम्म अनुगमनमा नाममा मन्त्री महतोले गरेका यस्ता क्रियाकलापप्रति उनले माफी माग्नु पर्ने व्यवसायीले माग गरे ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले आफूहरूले यसअघि पनि प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्रीलगायतलाई भेटेर आफ्ना समस्या राखेको र विज्ञप्तिनै जारी गरेको बताए । सरकारी अनुगमनको आफूहरूले जहिले पनि स्वागत गरेको, अनुगमनका क्रममा देखिएका कमी कमजोरी सच्याउन तत्पर रहेको बताउँदै अध्यक्ष गौतमले भने ‘मन्त्री महतोको क्रियाकलाप अनुगमनका नाउँमा व्यवसायीलाई हतोत्साही बनाउने खालको भयो ।’

मन्त्री महतोले मन्त्रालय सम्हाले यता होटल अनुगमनका नाममा यस्तै क्रियाकलाप गर्दै आएका व्यवसायीको आरोप छ । मिडियासहित सयजनाको जतिको संख्यामा दलबलसहित छापामार शैलीमा होटलभित्र पसेर व्यवसायीलाई अपराधीकोजस्तो व्यवहार गर्ने गरेकाले यो अनुगमन नभएर मन्त्रीको स्टन्ट भएको व्यवसायी बताउँछन् । मन्त्रीले व्यवसायीको अभिभाकीय भूमिका निभाउनु पर्ने, आफ्नो प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि मन्त्री सहयोगी हुनु पर्नेमा यी मन्त्रीको उल्टो मति देखिएको व्यवसायीको बुझाई छ ।

‘यहाँका कुनै होटलमा गुणस्तरीय खाद्यान्न हुँदैन, होटल सुरक्षित छैनन भनेर प्रचार गर्न उद्दत मन्त्री आखिर कस्को सेवा गरिरहेका छन् ?’ भन्ने प्रश्न गर्दै व्यवसायीले करौडौको लगानी गरेर स्थापना गरेको व्यवसाय मन्त्रीको यस्तो बहुलट्ठी व्यवहारले धारासायी हुने चिन्ता बढेको बताएका छन् ।

आफूहरू आफ्नै लगानीमा ‘जानौं मधेश, घुमौं मधेश’ भनेर देशभर अभियान चलाएको बताउँदै होटल तथा पर्यटन व्यवसायी संघ मधेशका अध्यक्ष गौतमले सरकारले गर्नु पर्ने काम व्यवसाायी गर्दा प्रोत्साहन गर्नु पर्नेमा उल्टो बद्नाम गराएर गुण लगाएकामा दुःख व्यक्त गरे । ‘कमजोरी भए हामीलाई, राम्रो भए सबैलाई’ भन्ने शुत्र नै व्यवसाय मैत्री सिद्धान्त हो । योभन्दा भिन्न व्यवहार शत्रुतापूर्ण हो । अनुगमनको नीति विपरित हो ।
अनुगमनको उदेश्य नियमन हो । नियमन भनेको सच्चिने अवसर दिदैं व्यवस्थित र विश्वासिलो बनाउनु हो, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले भने ‘मन्त्रीको व्यवहार पहिले बद्नाम गराउ अनि सच्याउँ भन्ने खालको भयो । यो शत्रुतापूर्ण व्यवहार हो ।’

आफ्नो टिम बर्दिबास उद्योग वाणिज्य संघमा निर्वाचित भए यता सरकारी अनुगमन अधिकारीलाई बोलाएरै व्यवसायीसंग वैठक राखेको, अनुगमन गर्न लगाएको बताउँदै अध्यक्ष कार्कीले भने ‘बेला बेला अनुगमन गर्दा हामीले पनि आफ्ना कमजोरी थाहा पाउँछौं, यो स्वागत योग्य कुरा हो ।’ मन्त्री महतोको यो शैलीलाई अनुगमन मान्न नसकिने बताउँदै उनले भने ‘व्यवसायीलाई सच्याउनेभन्दा बद्नाम गराउने मन्त्रीको ब्यवहार अब सहेर बसिन्न ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार