हैदराबादलाई कोलकाताको मध्यम लक्ष्य

खेलकूद

pn_6458

pn_6458

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । कोलकातालाई मध्यम लक्ष्य सम्म पुर्याउन विकेटकिपर दिनेश कार्तिक तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्का सहित २९ रनमा अविजित रहे । अन्तिम बलमा क्याच आउट भएका कप्तान ओईन मोर्गन २३ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । पाँचौं विकेटका लागि मोर्गन र कार्तिकले ३० बलमा ५८ रनको साझेदारी गरे ।

कोलकाताले सुरुवात राम्रो गरेपनि मध्यक्रममा लगातार विकेट गुमाउन पुगेको थियो । पहिलो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ६ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । छैटौं ओभरको अन्तिम बलमा टि नटराजनले त्रिपाठीलाई २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर राशिद खानको १२ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका गिल लङअफमा युवा ब्याट्सम्यान प्रियम गर्गले उत्कृष्ट क्याच लिएपछि ३६ रनमा पेभिलिएन फर्केका थिए । गिलले ३७ बलमा ५ चौका प्रहार गरे ।

लगत्तै १३ औं ओभरको पहिलो बलमा नितेश राणालाई विजय शंकरले मिडविकेटमा गर्गबाट २९ रनमा क्याच आउट गराए । राणाले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । नटराजनको १५ औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल डिप मिडविकेटमा ९ रनमा विजय शंकरबाट क्याच आउट भएपछि कोलकाताको ठूलो योगफल टाढिएको थियो ।

टि नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । विजय शंकरले ४ ओभरमा २० रन खर्चेर १ विकेट हात पारे । विशाल थाम्पीको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार