आइपिएल : कोलकत्ताविरुद्ध गुजरातको रोमाञ्चक जित

खेलकूद

gujarat-titans-1-1024x457

एजेन्सी । आन्द्रे रसेलले विष्फोटक ब्याटिङ र एकै ओभरमा चार विकेट लिएपनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग९आइपिएल० २०२२ मा गुजरात टाइटन्ससँग ८ रनले पराजित भएको छ । यो जितसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले २५ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ४८ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । अन्तिम ६ बलमा कोलकातालाई जितको लागि १८ रन चाहिँएको थियो ।

आन्द्रे रसेलले पहिलो बलमा अल्जारी जोशेफलाई छक्का प्रहार गरेपछि बाँकी ५ बलमा १२ रन चाहिँएको थियो । दोस्रो बलमा रसेल फर्गुसनबाट क्याच भएपछि कोलकाताको जित कठिन बनेको थियो । तेस्रो बलमा टिम साउथीलाई १ र चौथो बलमा उमेश यादवलाई २ रन खर्चिए । अन्तिम दुई बल डटका साथ जित दिलाए ।

रसेलले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दयालको १३ औं ओभरको तेस्रो बलमा बाउन्समा एज लागेर फाइन लेगमा क्याच भएपनि नो बलका कारण रसेलले जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले पहिलो ओभरको चौथो बलमा साम बिलिंग्सलाई ४ रनमा ऋद्धिमान शाहबाट क्याच गराए । उनी टप एज लागेर क्याच भए । शामीले नै फाइनल लेगमा लोकी फर्गुसनबाट सुनिल नारायणलाई ५ रनमा क्याच गराए ।

फर्गुसनको पाँचौं ओभरको दोस्रो बलमा नितिश राणा २ रनमा कट बिहाइन्ड आउट भए । युवा तीव्र गतिका बलर यश दयालले कप्तान श्रेयस ऐरलाई १२ रनमा शाहबाट क्याच गराएपछि कोलकाता ६।१ ओभरमा ३४–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका वेंकटेश ऐर र रिन्कु सिंहले ४५ रनको साझेदारी गरेका थिए । रिन्कु दयालको बलमा एज लागेर शाहबाट ३५ रनमा आउट भए । उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । गुजरातका यश दयाल, मोहम्मद शामी र राशिद खानले २–२ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पान्ड्याले ४९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । हार्दिकले चोटका कारण पछिल्लो चेन्नई सुपर किंग्ससँगको खेल गुमाएका थिए ।

आइपिएलमा हार्दिकको यो लगातार तेस्रो अर्धशतक हो । हार्दिकले राजस्थान रोयल्ससँग ५२ बलमा ८ चौका र ४ छक्कासहित ८७ रन र हैदराबादविरुद्ध ५० रनमा अविजित थिए । ओपनर सुभमन गिल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भएका थिए ।

अर्का ओपनर ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । डेविड मिलर २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रनमा क्याच आउट भए । राहुल टेवाटिया १७ रनमा आउट भए ।

कोलकाताका टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साउथीलाई प्याट कमिन्सलाई बेन्चमा राखेर खेलाएको थियो । आन्द्रे रसेलले १ ओभरमा ५ रन खर्चेर ४ विकेट लिए ।

उमेश यादव र शिवम माभीको नाममा १–१ विकेट रह्यो । कोलकाताले अव बिहीबार दिल्लीसँग खेल्नेछ । गुजरातले बुधबार हैदराबादसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार