गण्डकी, पुलिस र आर्मीको विजयी सुरुआत

खेलकूद

mb2a2656-jpg

काठमाडौं । गण्डकी प्रदेश भलिबल क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुषतर्फ विजयी सुरुआत गर्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको पहिलो खेलमा गण्डकीले ३–१ को जित निकाल्यो ।

गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्त्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो ।

पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गर्‍यो ।

यस्तै अन्तिम खेलमा आर्मीले एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्‍यो । साबिक विजेता आर्मीले २५(२३, २५(१८, २५(२२ को जित निकाल्यो ।

वैशाख १८ गते देखि २४ गते सम्म सञ्चालन हुने लिगको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले प्रतियोगिता रेफ्रि पूर्ण चौलागाईलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए ।

क्लब लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेस्ट भलिबल क्लबको सहभागिता रहेको छ ।

पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार