निमा र दीपकले उसु वर्ल्ड गेम्स खेल्ने

खेलकूद

new-project-101654693396

काठमाडौं ।  नेपालकी उसु खेलाडी निमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स–२०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता अमेरिकाको बर्मिङ्घममा ७ जुलाईदेखि १७ तारिखसम्म हुनेछ । निमा र दीपक नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद ९साग० को स्वर्ण पदक विजेता खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वर्ल्डगेम्स फेडरेसनले निमा र दीपकलाई छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए ।

‘‘वर्ल्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ,’’ उसु संघका महासचिव लामाले भने, ‘‘यो हाम्रा लागि गौरवको विषय हो ।’’

भारतमा सम्पन्न १२औँ सागमा स्वर्ण जितेकी निमाले १४औँ तथा १५औँ उसु वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् । यसैगरी निमाले एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा काश्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन् ।

दीपकले १४ तथा १५औँ उसु वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये दीपक उत्कृष्ट ९ भित्र पर्न सफल भएका थिए । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि काश्य पदक जितेका थिए । त्यही नतिजाका आधारमा निमा र दीपक वर्ल्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए ।

निमा र दीपक दुवै थाउलोका खेलाडी हुन् । वर्ल्ड गेम्समा निमाले नानकुन नानदाउ अलराउन्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् । निमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार