ज्ञान निकेतन बास्केटबलको तयारी पूरा

खेलकूद

काठमाडौं,४ फागुन । ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता रहने ज्ञान निकेतनका निर्देशक एवं प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।

ब्वाइज टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्समा राउन्ड रोविन लिगमा खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

सिनियर ब्वाइजको समूह ‘ए’ मा ज्ञान निकेतन, मनासलु, केएमसी र नेरिक तथा समूह ‘बी’ मा एन्जल लर्ड, बुद्ध एकेडेमी, पुष्प वाटिका र काठमाडौं जेभियर छन् । जुनियर ब्वाइजमा नेरिक, इनोभेटिभ र युनिक नेपाल समूह ‘ए’ मा छन् भने ज्ञान निकेतन, ग्रिनफिल्ड, काठमाडौं जेभियर र केएमसी समूह ‘बी’ मा रहेका छन् । गल्र्समा सहभागी टिमहरुमा ज्ञान निकेतन, इनोभेटिभ, चैतण्य र मनासलु छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने ज्ञान निकेतनकी आर्थिक निर्देशक मिरा थापाले बताइन् । फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । ज्ञान निकेतन बास्केटबल विद्यालयस्तरको पुरानो प्रतियोगिता मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार