प्रिन्स र रशिला क्वाटरफाइनलमा

खेलकूद

विराटनगर, ४ फागुन । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ वरीयतातर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अधिकारी पनि क्वाटरफाइनल पुगे । बिधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वाटरफाइनल पुगेका हुन् । बुधबारको खेलमा अधिकारीले पुलिसका पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।

महिला तर्फ शिर्ष १२ बरियताको एकल खेलमा समूह ए बाट आर्मीकी रशिला महर्जन बिजेता र पुलिसकी निता लम्साल उपबिजेता, समूह बी बाट आर्मीकी अमिता गिरी बिजेता र एपिएफकी शोभा गौचन उपबिजेता, समूह सी बाट आर्मीकी अनुमाया राई बिजेता र एपिएफकी सुनयना मुखिया उपबिजेता, समूह डी बाट एपिएफकी जेशिका गुरुङ्ग बिजेता र आर्मीकी प्राथना देउवा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न खेलमा आर्मीकी रशिलाले पुलिसकी नितालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङ्गले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे ।

अव क्वाटरफाईनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार