बटलरको शतकमा राजस्थानको रोमाञ्चक जित

खेलकूद

एजेन्सी, ५ वैशाख । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाब विरुद्ध बनायो कीर्तिमान राजस्थानले आज बराबरी गरेको हो ।

आज राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन जडे । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाए ।

राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए । यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए ।

कोलकत्ताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २÷२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो । नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।

राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २÷२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले ११ विकेट लिए ।

जित पछि राजस्थान ७ खेलमा १२ अंक सहित शीर्ष स्थानमा यथावत छ । कोलकत्ता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ ।

आईपिएलमा बुधबार गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार