एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

खेलकूद

काठमाडौं, ६ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४।१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४।०६ मिटरको कीर्तिमान तोडेका हुन् ।

प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०।५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा बागमतीकी अपेक्षा महतो तेश्रो भए ।

छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२।८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७।२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेश्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४।२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७।२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३।८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी दोश्रो तथा सुदूरपश्चिम तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो बने ।

तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १।८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८।५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२।९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोश्रो तथा लुम्बिनीका सुराज थापा तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०।५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोश्रो तथा बागमतीकी एलिना विक तेश्रो बने ।

छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२।८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोश्रो तथा बागमतीका सन्तबहादुर दराई तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८।२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य हात पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार