
काठमाडौ.. ९ माघ । नेपाल आर्मीका किरण पुन र एपीएफका मोहम्मद शेखु आलम राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष ८४ केजीमुनि तौलसमूहमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको सेमिफाइलनमा किरणले सुदूरपश्चिम प्रदेशका कमल ओली र शेखुले बागमती प्रदेशका पासाङ ग्याल्जेन ठोकरलाई पराजित गरे ।
पुरुष ५५ केजीमुनि सुदूरपश्चिमका सुरेन्द्र लुहार र प्रहरीका एलोन श्रेष्ठ, ५० केजीमुनि एपीएफका राकेश मानन्धर र बागमतीका सुजन खड्गी तथा ६७ केजीमुनि प्रहरीका सन्तोष श्रेष्ठ र एपीएफका प्रदीप बइजाली मगर फाइनलमा पुगे ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमुनि एपीएफकी वर्षा बुढा मगर र नेपाल आर्मीकी ममता महर्जन, ५० केजीमुनि एपीएफकी अन्जली महर्जन र प्रहरीकी पुष्पका लामा, ६८ केजीमाथि एपीएफकी दिया थापा र बागमती प्रदेशकी महिमा राई तथा ६१ केजीमुनि कर्णाली प्रदेशकी कृतिका कटुवाल र प्रहरीकी निरुपा दोङ तामाङले फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
